छ अर्बको लागतमा बुटवलमा १२ सय शय्याको १२ तले प्रादेशिक अस्पताल बन्दै

छ अर्बको लागतमा बुटवलमा १२ सय शय्याको १२ तले प्रादेशिक अस्पताल बन्दै

बुटवल : एक सय १४ वर्ष पुरानो बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण हुने भएको छ।

लुम्बिनी प्रदेश मातहतको प्रदेश पूर्वाधार विकास प्राधिकरणले पहिलो बोलपत्र आह्वान ८ फागुन ०७८ मा गरेको थियो। भवन निर्माणको लागि आह्वान गरेको ठेक्कामा स्पेसिफिकेसनमै सेटिङ भएको खुलासा भएसँगै तत्काल सबै प्रक्रिया स्थगित भएका थिए।

गुरुयोजना बनेर ठेक्का प्रक्रिया अगाडि बढ्नै लाग्दा प्राधिकरणले ‘भिन्ली मेडिकेटेड फ्लोरिङ’को काम गरेकालाई मात्रै प्राविधिक मूल्याङ्कनमा पास गराउने गरी टेन्डर निकालेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले तत्काल यो काम अघि नबढाउन निर्देशन दिएको थियो।

१२ सय शय्याको दश तले भवन निर्माणको लागि दुई पटक आह्वान गरिएको टेण्डर सार्वजनिक खरिद ऐनको दफा ३६ को उपदफा १ (ग) बमोजिम निर्णय रद्द गरिएको थियो। तर, अहिले सबै प्रक्रिया पूरा भई १० तलाको उक्त नयाँ भवन निर्माणका काम अघि बढेको लुम्बिनी प्रदेश सरकारले जनाएको छ।

अहिले सबै विवाद निरुपण भएको र वातावरणीय प्रभाव मूल्याङ्कन समेत भएर आधुनिक अस्पताल भवनको निर्माण कार्य अगाडि बढेको लुम्बिनी प्रदेशका स्वाथ्य मन्त्री राजु खनालले जानकारी दिए।

६ अर्ब १८ करोड ७५ लाखमा पुस ६ गते प्रतिष्ठित अन्तर्राष्ट्रिय (भारतीय) कम्पनी क्यापासाइट-आशिष-रेलिग्रेट भेन्चरले नेपाली कम्पनीसँग संयुक्त रुपमा काम गर्नेगरी ठेक्का सम्झौता भइ काम सुरु भएको उनले बताए। पाँच वर्षमा सक्ने गरी निर्माण सम्झौता भएको अस्पतालको भवन फागुन १५ गते शिल्यनास हुँदैछ।

गुरुयोजना अनुसार अस्पतालको संरचना निर्माणका लागि ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार एक सय ९९ रुपैयाँ २३ पैसा बराबरको लागत अनुमान गरिएको थियो।

नयाँ अत्याधुनिक अस्पताल निर्माण भएपछि अस्पतालबाट विशिष्टकृत सेवाहरू सञ्चालन हुने अस्पतालले जनाएको छ। लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डन डा. सुदर्शन थापाले नयाँ भवनको अगाडिको भागमा भागमा अत्याधुनिक ओपिडी, इमरजेन्सी, इन्डोर सेवा लगायत रहने र अस्पताबाट विशिष्टीकृत ग्याष्ट्रो, न्युरो, कार्डियो लगायतका सबै विशेषज्ञ सेवा प्रदान गरिने बताए।

दुई तला अण्डरग्राउण्ड सहित १२ तलामा निर्माण हुने अस्पतालको नयाँ भवनमा अलग्गै ‘ओन्कोलोजी ब्लक’ बन्नेछ।

लुम्बिनी प्रदेशको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल उपमहानगरपालिकाको वडा नम्बर ९ मा रहेको ६ बिघा १२ कठ्ठा जग्गामा बन्ने भवनको सम्झौता भई काम भएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर छविराज पोखरेलले जानकारी दिए।

भवन निर्माण भए पश्चात अस्पताललाई विस्तार गरी न्यूनतम १२ सय शय्याको क्षेत्रीय बहुअनुशासनात्मक अस्पतालमा स्तरोन्नति गरिने उनले बताए। हाल अस्पतालमा तीन सय शय्याको सरकारी र एक सय शय्या समितितर्फ गरी चार सय शय्या स्वीकृत भएको भए पनि ५ सय २४ बेड सञ्चालनमा रहेका छन्।

नयाँ भवन निर्माणका लागि अहिले पुराना भवन र संरचना हटाउन थालिएको छ। अहिले अस्पतालका सबै सेवाहरू नयाँ भवनबाट सुरु भएकाले उपचार सेवामा कुनै पनि प्रभाव नपर्ने गरी संरचनालाई हटाउन थालिएको अस्पतालका मेसु थापाले बताए।

नयाँ बन्ने अस्पताल कस्तो ?
कुनै बेला ‘रेफर सेन्टर’को उपनाम पाएको लुम्बिनी प्रादेशिक अस्पतालमा अहिले धेरै सुधार भएको छ। विरामीले सहज रुपमा सेवा पाइरहेका छन्। तर, सीमित पुर्वाधार कारण अहिले पनि समयमै उपचार पाउन भने मुस्किल छ।

अब नयाँ अस्पतालको भवन बने पश्चात अहिलेका सबै समस्या समाधान हुने मेसु थापा बताउँछन्। अब बन्ने अस्पताल भवनको अगाडिको भागमा अत्याधुनिक बहिरङ्ग सेवा (ओपिडि), आपतकालिन (इमर्जेन्सी), इन्डोर सर्भिस कक्ष रहनेछन्।

साथै विशिष्टिकृत ग्याष्ट्रो, न्यूरो, कार्डियोलोजी लगायतका सवै बिशेषज्ञ सेवा एउटै भवनबाट व्यवस्थित तरिकाले प्रदान गर्नेगरी संरचना निर्माण हुनेछन्।

हाल उपचारका लागि प्रयोगमा रहेका तीनवटा नयाँ भवनमा डाइग्नोष्टिक एण्ड रिसर्च, प्रसूति र महिला तथा बालरोगको उपचारका लागि प्रयोग गरिने मेसु थापाको भनाइ छ। भवनको माथि हेलिप्याडसमेत छ। हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आऊजाऊ गर्न मिल्ने व्यवस्थित लिफ्टसमेत बन्नेछ।

अस्पतालले लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न जिल्लाका करिब ४० लाख जनसंख्यालाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको अस्पतालको रेकर्डमा छ।

लुम्बिनी प्रादेशिक अस्पतालका पूर्व अध्यक्ष बाबुराम भट्टराई नयाँ बन्ने अस्पतालको भवन पश्चात यस क्षेत्रमा स्वास्थ्यले धेरै फड्को मार्ने बताए। साथै अहिलेको अस्पतालको पूर्वाधारले विरामीको उपचारका लागि अपुग भएको भन्दै नयाँ भवन पश्चात उपचारमा स्तरीयता अझ बढ्ने उनको भनाइ छ।

प्रादेशिक अस्पताल निर्माणपछि तिलोत्तमामा निर्माण हुने भनिएको बुटवल मेडिकल कलेजका विद्यार्थीको प्राक्टिसका लागि पनि पर्याप्त हुने उनको भनाइ छ।

‘अब मेडिकल कलेज स्थापनाका लागि पनि दवाव दिन जरुरी छ। त्यहाँ पढ्ने विद्यार्थीहरूका लागि अब प्रयोगात्मक सिकाइ यो नयाँ भवन निर्माणपछि कमी हुँदैन’, उनले भने।

अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा. ईन्द्र ढकालले नयाँ भवन निर्माणपछि बुटवल स्वास्थ्यको हब बन्ने दाबी गरे। बुटवलबासीका लागि अस्पताल गौरबको कुरा भएको उनले बताए।

‘स्वास्थ्यको हब मात्र होइन, अब यो भवन बनेपछि आर्थिक रूपमा पनि बुटवल चलायमान बन्छ,’ उनले भने, ‘राजधानी सरेपछि जुन शिथिल बुटवल थियो, पुनः चलायमान बनाउन यो अस्पतालले भुमिका खेल्नेछ।’

३ फागुन, २०८०, ०९:४४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।