फाइनलमा भारतलाई ७९ रनले हराउँदै अस्ट्रेलियाले जित्यो यू-१९ विश्वकप क्रिकेट

फाइनलमा भारतलाई ७९ रनले हराउँदै अस्ट्रेलियाले जित्यो यू-१९ विश्वकप क्रिकेट

काठमाडौं : भारतलाई हराउँदै अस्ट्रेलियाले आइसीसी यू-१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ।

फाइनल खेलमा भारतलाई ७९ रनले पराजित अस्ट्रेलियाले चौथो पटक यू-१९ विश्वकप क्रिकेटको उपाधि जितेको हो।

पहिला ब्याटिङ गर्दै अस्ट्रेलियाले दिएको २५४ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको भारतीय टिम ४३.५ ओभरमा अल आउट हुँदै १७४ रनमै समेटियो।

आजको खेलमा अस्ट्रेलियाका ओपरन ह्यारी डिक्सनले ४२, कप्तान हग वेब्गेनले ४८, हर्जस सिंहले ५५, ओलिभर पिकले ४६ तथा रायन हिक्सले २० रनको योगदान दिए। फलस्वरुप अस्ट्रेलियाले ५० ओभरमा ७ विकेट गुमाउँदै २५३ रन बनायो।

भारतका राज लिम्बानीले तीन विकेट तथा नमन तिवारीले दुई विकेट लिए भने सौम्य पाण्डे तथा मसीर खानले समान एक विकेट लिए।
भारतका ओपनर अर्षिन कुलकणी तीन रनको स्कोरमै आउट भए। दोस्रो विकेटका लागि आदर्श सिंह (४७ रन) तथा मुसीर खान (२२ रन) बीच केही राम्रो साझेदारी भए पनि उनीहरूको साझेदारी टुटे लगत्तै भारतीय इनिङ सम्हालिनै सकेन।

मुरुगन अभिषेशले ४२ रन तथा नमन तिवारीले १४ बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकले रन बनाउने सकेनन्।

यो सँगै अर्कोपटक अस्ट्रेलियासँग स्तब्ध हुँदै भारत विश्वकपको उपाधि जित्ने सपना चकनाचुर भएको छ। यसअघि गत मंसिरमा भारतमा भएको एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा घरेलु टोली भारत र अस्ट्रेलियाबीच प्रतिस्पर्धा भएको थियो।

फाइनलमा घरेलु टोलीलाई ६ विकेटले स्तब्ध पार्दै अस्ट्रेलियाले एकदिवसीय विश्वकपको उपाधि जितेको थियो।

अस्ट्रेलियाले यसअघि १९८८, २००२ र २०१० मा भएको यू–१९ विश्वकप जितेको थियो।

२८ माघ, २०८०, २१:४६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।