पाकिस्तान : जनादेशमाथि लुट भएको भन्दै इमरान खानको पार्टीले आज देशभर प्रदर्शन गर्दै

पाकिस्तान : जनादेशमाथि लुट भएको भन्दै इमरान खानको पार्टीले आज देशभर प्रदर्शन गर्दै

एजेन्सी : इमरान खानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई)ले चुनावमा बहुमत ल्याएको दाबी गर्दै देशका अधिकांश भागमा विरोध प्रदर्शनको घोषणा गरेको छ।

चुनावमा पार्टीले पाएको जनादेश लुट्ने काम भएको पीटीआईको भनाइ छ। पार्टीले लाहोर, फैसलाबाद, रावलपिंडी, मुल्तान, बहावलपुर, डेरा गाजी खान र गुजरनवालामा प्रदर्शन गर्दैछ।

अहिलेसम्मको नतिजामा पीटीआईले समर्थन गरेका स्वतन्त्र उम्मेदवारले सबैभन्दा बढी सिट जितेका छन्।

पीटीआईले एक सन्देशमा दिउँसो २ बजे लाहोरको लिबर्टी चोकमा शान्तिपूर्ण प्रदर्शनको तयारी गर्न भनेको छ।

पीटीआईले ट्वीटरमा जनादेश खोस्ने प्रयासको विरोधमा दक्षिणी पञ्जाबमा शान्तिपूर्ण प्रदर्शनहरू गरिने बताएको छ।

मतदान सकिएको तेस्रो दिन भए पनि नेशनल एसेम्बलीका सात सिटको मतपरिणाम आउन बाँकी छ। यी सबै सिट बलुचिस्तानका हुन्।

यसअघि शनिबार पीटीआईका अध्यक्ष गौहर अली खानले आफ्नो पार्टीका कार्यकर्ताहरूले शनिबार रातिसम्म नतिजा घोषणा नहुने सिटहरूमा मतगणना केन्द्रबाहिर विरोध प्रदर्शन गर्ने बताएका थिए।

पाकिस्तानी समाचार संस्था डनका अनुसार अहिलेसम्म पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारहरूले देशका २६६ मध्ये ९३ सिटमा जितिसकेका छन्।

नवाज सरिफको पार्टी पाकिस्तान मुस्लिम लिग-एनले ७३ सिट, बिलावाल भुट्टो जरदारीको पाकिस्तान पिपल्स पार्टीले ५४ सिट र अन्य साना दलले ३६ सिटमा जित हात पारेका छन्।

२८ माघ, २०८०, ०८:५८:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।