इंग्लिस प्रिमियर लिग : लिभरपुल र म्यान्चेस्टर सिटी क्रमशः पहिलो र दोस्रो स्थानमा

इंग्लिस प्रिमियर लिग : लिभरपुल र म्यान्चेस्टर सिटी क्रमशः पहिलो र दोस्रो स्थानमा

काठमाडौं : बर्नलीलाई ३-१ गोलअन्तरले पराजित गर्दै इंग्लिस प्रिमियर लिगको अंकतालिकामा लिभरपुलले शीर्ष स्थान कायमै राखेको छ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि डियोगो जोटा, लुइस डियाज र डार्विन नुनेजले गोल गरे। बर्नलीका लागि डारा ओशिएले सान्तवना गोल फर्काए।

डियोगोले खेलको ३१औं मिनेटमा लिभरपुलका लागि सुरुवाती अग्रता दिलाए पनि बर्नलीका डाराले खेलको ४५औं मिनेटमा गोल फर्काएर खेललाई बराबरीमा ल्याए।

त्यसपछि खेलको ५२औं र ७९औं मिनेटमा क्रमशः लुइस र डार्विनले गोल गरे।

शनिबारै भएको अर्को खेलमा म्यान्चेस्टर सिटीले इभर्टनलाई २-० ले पराजित गर्दै दोस्रो स्थानमा यथावत रहेको छ। सिटीका लागि इर्लिङ हल्याण्डले ७१औं र ८५औं मिनेटमा दुई गोल गरे।

त्यसैगरी हिजै भएको अन्य खेलमा ब्रेडफोर्डले उल्भ्सलाई २-०, फुलहमले बर्नमाउथलाई ३-१, टोटनहमले ब्रिङ्टनलाई २-१, सेफल्ड युनाइटेडले लुटन टाउनलाई ३-१, न्यूक्यास्टलले नोटम फरेस्टलाई ३-२ ले पराजित गरेका थिए।

लिगमा २४ खेलबाट ५४ अंकसहित लिभरपुल पहिलो स्थानमा हुँदा एक खेल कम खेलेको म्यास्चेस्टर सिटी ५२ अंकसहित दोस्रो स्थानमा छ।

समान २३ खेल खेलेको आर्सनल ४९ अंकसहित तेस्रो स्थानमा हुँदा टोटमहम, एस्टन भिल्ला र म्यान्चेस्टर युनाइटेड क्रमशः चौथो, पाँचौं र छैटौं स्थानमा छ।

२८ माघ, २०८०, ०७:५४:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।