जसपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर जितेका थिए, फेरि जसपामै फर्किए

जसपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर जितेका थिए, फेरि जसपामै फर्किए

काठमाडौं : सप्तरीको निर्वाचन क्षेत्र नम्बर -४ ‘ख’बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित सांसद अनिरुद्वप्रसाद सिंह यादव जनता समाजवादी पार्टी (जसपा)मा फर्किएका छन्।

शनिबार सप्तरीको बोदेवर्साइन नगरपालिकामा आयोजित कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवसहितका नेताले उनलाई पार्टीमा पुनः स्वागत गरेका हुन्।

अध्यक्ष यादवका स्वकीय सचिव महेश चौरसियाका अनुसार सांसद यादवसँगै विभिन्न पार्टी परित्याग गरी केही नेता-कार्यकर्ता जसपामा प्रवेश गरेका छन्।

सांसद यादव गत निर्वाचनमा जसपाबाट टिकट नपाएपछि स्वतन्त्र उमेदवार बनेका थिए। नौ हजार ९८५ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका सांसद यादवले जसपाकै उमेदवारलाई पराजित गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका अभिषेक यादवले सात हजार ९२० मत प्राप्त गरेका थिए।

योसँगै मधेश प्रदेशसभामा जसपाका प्रदेशसभा सदस्य संख्या १९ पुगेको छ। यसअघि महोत्तरी–२ ‘ख’बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा–३ ‘क’बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोदकुमार जैसवाल जसपामा प्रवेश गरेका थिए।

२७ माघ, २०८०, २०:१८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।