पार्टी समर्थित उम्मेदवारको जितपछि जेलमा रहेका इमरान खानको भिडियो बयान

पार्टी समर्थित उम्मेदवारको जितपछि जेलमा रहेका इमरान खानको भिडियो बयान

एजेन्सी : पार्टी प्रमुख तथा पूर्व प्रधानमन्त्री इमरान खानले पाकिस्तानको आम चुनावमा पीटीआई समर्थित उम्मेदवारको ठूलो जितबारे एक विज्ञप्ति जारी गरेका छन्।

तर, इमरान खान अहिले भ्रष्टाचारको मुद्दामा जेलमा रहेकाले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मार्फत यो बयान दिइएको हो।

पूर्वप्रधानमन्त्रीको पार्टी पीटीआईले सोसल मिडिया साइट एक्समा आफ्नो आवाजमा यो वक्तव्य जारी गरेको हो।

‘भोट गरेर तपाईंले साँचो स्वतन्त्रताको जग बसाल्नुभयो। म तपाईंलाई २०२४ को चुनाव जितेकोमा बधाई दिन्छु,’ सन्देशमा अदियाला जेलमा बन्दी रहेका इमरान खानले भनेका छन्, ‘तपाईंको भोटका कारण लन्डन योजना असफल भयो।’

इमरान खानको सन्देशमा पूर्व प्रधानमन्त्री नवाज शरीफमाथि कटाक्ष गर्दै भनिएको छ- ‘३० सिट पछाडि भए पनि विजयी भाषण दिइयो।’

निर्वाचन आयोगले अन्तिम परिणाम भने घोषणा गरिसकेको छैन। पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारले अग्रता लिने क्रम अहिले पनि जारी छ। 

Chairman Imran Khan's victory speech (AI version) after an unprecedented fightback from the nation that resulted in PTI’s landslide victory in General Elections 2024. pic.twitter.com/Z6GiLwCVCR

— Imran Khan (@ImranKhanPTI) February 9, 2024

इमरान खानले आफ्नो पार्टी र कार्यकर्तालाई आफ्नो भोट जोगाउन आग्रह गरेका छन्। यसअघि एआईको सहयोगमा तयार पारिएको सन्देशमा इमरान खानको आफ्नै शब्द प्रयोग गरिएको पीटीआईले जनाएको थियो।

पाकिस्तानको नेशनल एसेम्बलीको २६६ सिटमा बिहीबार भएको मतदानपछि नतिजा आउँदैछ।

हालसम्म घोषित नतिजामा पीटीआईले समर्थन गरेका ९९ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने नवाज शरीफको पीएमएल (एन) का ७१ उम्मेदवार विजयी भएका छन्।

पीपीपीले ५३ सिटमा जित हासिल गरेको छ भने मुत्ताहिडा क्वमी मुभमेन्ट पाकिस्तानले १७ सिट जितेको छ।

२७ माघ, २०८०, ०८:४१:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।