विमला तुम्खेवा र गिरिराज बाँस्कोटालाई अमर नेम्बाङ स्मृति सम्मान

विमला तुम्खेवा र गिरिराज बाँस्कोटालाई अमर नेम्बाङ स्मृति सम्मान

पाँचथर  :  राजनीतिज्ञ, साहित्यकार एवम् समाजसेवी स्व.अमरकुमार नेम्बाङको नाममा स्थापित संस्था ‘अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठान’ले यस वर्षको साहित्य सम्मान पुरस्कार कवि विमला तुम्खेवा र कवि तथा नियात्राकार गिरिराज बाँस्कोटालाई दिएको छ।

शुक्रवार पाँचथरको फिदिममा अमर नेम्वाङ लिम्बु स्मृति प्रतिष्ठानले सम्मान गरेको हो।

उनीहरूलाई जनही नगद ५० हजार पुरस्कारसहित दोसल्ला र कदर पत्र दिँदै सम्मान गरिएको हो। पुरस्कृत स्रष्टाद्वय तुम्खेवा र बाँस्कोटालाई कार्यक्रमका प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले कदर पत्रसहित नगद पुरस्कार वितरण गरेका थिए।

कार्यक्रममा अमर नेम्वाङ लिम्बु स्मृति छात्रवृत्ति समेत वितरण गरियो। ज्योति मावि आङसराङकी छात्रा प्रेमा लावतीलाई ‘अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठान’ले  छात्रवृत्तिको रकम १० हजार रुपैयाँ प्रदान गरेको थियो।

त्यसैगरि प्रतिष्ठानले  पाँचथरका  आगलागी र बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई राहत  वितरण गर्यो। आगलागीमा ज्यान गुमाएका हिलिहाङ-७ का सेसे पन्दाक, फिदिम-५ का सनिप खाती, फाल्गुनन्द-१ का मनकुमार नेम्वाङ र मिक्लाजुङ-७ का सरिता राईका परिवारलाई राहतस्वरुप नगद १० हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराइएको थियो।

गत असार २ गते गएको बाढी पहिरोमा ज्यान गुमाएका हिलिहाङ-७ का तिलकुमार तामाङ, आशिष् माझी र एलिसा माझी सँगै फालेलुङ-४ की जुना सावदेन, फिदिम-१० का सन्जोग लोवा र फिदिम-५ का राजकुमार राईको परिवारलाई पनि नगद १० हजारका दरले राहत रकम उपलब्ध गराइएको थियो।

पुरस्कार, राहत र सम्मान वितरण कार्यक्रमको संयोजन याक्थुङ लेखक संघले गरेको थियो। अमरकुमार नेम्वाङको फाल्गुनन्द गाउँपालिका अध्यक्ष रहेकै बखत २०७५ साल माघ २६ मा निधन भएको थियो।

२६ माघ, २०८०, १८:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।