पाकिस्तान आम निर्वाचन : मतदान शुरू, देशभर माेबाइल सेवा बन्द

पाकिस्तान आम निर्वाचन : मतदान शुरू, देशभर माेबाइल सेवा बन्द

एजेन्सी : पाकिस्तानको आम निर्वाचनमा मतदान शुरू भएको छ। मतदान शुरु भएसँगै सरकारले देशभर मोबाइल सेवा बन्द गरेको छ।

देशमा हालै भएका आतंकवादी घटनाका कारण शान्ति सुरक्षा कायम गर्न र सम्भावित खतराहरू सामना गर्न अस्थायी रूपमा देशभर मोबाइल सेवा बन्द गरिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ।

पाकिस्तानको नेशनल एसेम्ब्लीका ३३६ सिटमा आज मतदान हुँदैछ। सरकार बनाउन १६९ सिट चाहिन्छ।

दुई वर्षअघि देशमा अविश्वासको प्रस्ताव ल्याएर पूर्वप्रधानमन्त्री इमरान खानको सरकार गिराएको थियो र अहिले उनी भ्रष्टाचार मुद्दामा जेलमा छन्। उनलाई १४ वर्षको जेल सजाय सुनाइएको छ।

तीन पटक देशको प्रधानमन्त्री भइसकेका नवाज सरिफ यसपटक चुनावी मैदानमा छन्। धेरै विश्लेषकहरू भन्छन् कि यो पाकिस्तानको अहिलेसम्मको सबैभन्दा कम विश्वसनीय चुनाव हो।

पाकिस्तान आर्थिक संकट, २०२२ मा आएको भीषण बाढी, मुद्रास्फीति र चरमपन्थी घटनासँग संघर्ष गरिरहेको छ। देशमा हिंसा र अतिवादका घटना बढ्दै गएका छन्।

आम चुनावको ठीक एक दिन अघि, बुधबार बलुचिस्तान प्रान्तमा उम्मेदवारहरूको कार्यालय बाहिर दुईवटा बम विस्फोटमा कम्तीमा २८ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए।

२५ माघ, २०८०, १०:४६:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।