बचत रकम फिर्ता गर्न नसकेपछि रुपन्देहीका १० सहकारी बन्द, ग्यालेक्सी जोडिएको सुप्रिमले सर्वसाधारणको १ अर्ब बढी फिर्ता दिन बाँकी

बचत रकम फिर्ता गर्न नसकेपछि रुपन्देहीका १० सहकारी बन्द, ग्यालेक्सी जोडिएको सुप्रिमले सर्वसाधारणको १ अर्ब बढी फिर्ता दिन बाँकी

बुटवल : बचतकर्ताको रकम अपचलन गरेका रुपन्देहीका सहकारीहरू एकपछि अर्को गर्दै बन्द हुन थालेका छन्। नियमन निकाय रमिते बन्दा सहकारीहरू बन्द भएका हुन्। सञ्चालकहरू फरार भएपछि बचतकर्ताहरू न्यायको ढोका ढकढकाउन कहिले जिल्ला प्रहरी कार्यालय त कहिले सहकारीको प्रदेश कार्यालयमा धाइरहेका छन्।

बचतकर्ताको रकम अपचलन गरेर फरार भएका सञ्चालकहरूबाट बचतकर्ताहरू आत्तिएका छन्। त्यसमा पनि बचतकर्ताको रकम नै फिर्ता नगरी सहकारी बन्द हुन थालेपछि बचतकर्ताहरू थप निराश बनेका हुन्।

बिना धितो लगानी गरेर बचतकर्ताको रकम अपचलन गरेका रुपन्देहीका १० सहकारी अहिले बन्द भएका छन्।

बचतकर्ताको झन्डै १ अर्ब रकम अपचलन भएको बुटवलस्थित सुप्रिम सहकारी बन्द छ। यसका सञ्चालक र व्यवस्थापक फरार छन्। अहिलेका अध्यक्ष ओम गुरुङले संरक्षक रहेका गिदेन्द्रबाबू (जीबी) राई र प्रमुख कार्यकारी भएर काम गरेका सागर केसीको मिलेमतोमै सहकारीको ९४ करोड रूपैयाँ अपचलन भएको भन्दै प्रहरी कार्यालय रुपन्देहीमा निवेदन छ।

सहकारीका वर्तमान अध्यक्ष ओम गुरुङले सुप्रिममा प्रमुख कार्यकारी भएर काम गरेका सागर केसी ९ महिनादेखि सम्पर्कमा नरहेको बताए।

उनले आफूलाई समेत पीडित बनाएर कार्यकारी प्रमुख केसीसहित उपाध्यक्ष असरफ अलि सिद्धिकी, सचिव कुमार रम्तेल, सञ्चालकहरू बुद्धि गुरुङ, दिनेश रोका, सफ्टवेयर प्रमुख भविश्वर अर्याल फरार भएको बताए। उनले खोजबिनका लागि प्रहरीमा निवेदन दिएको समेत जानकारी दिए।

त्यस्तै, बुटवलको योगिकुटी स्थित शिवशिखर बहुद्देश्यीय सहकारी संस्था पनि बन्द छ। उक्त सहकारीले ३ करोड रूपैयाँ बचतकर्तालाई फिर्ता गर्न बाँकी छ।

बुटवलकै आगन्तुक सहकारी पनि बन्द छ। यसका अध्यक्ष राजु घर्ती केही महिना अघि कारागार बसे पनि धरौटीमा रिहा भएका छन्। तर, उनले बचतकर्ताको रकम फिर्ता गर्न सकेका छैनन्।

त्यस्तै, साइन, विश्वविराट, उपकार, सप्तदीप, नमस्ते, उपदेश, सुनौलो बहुद्देश्यीय सहकारी पनि बचत रकम फिर्ता गर्न नसकेपछि बन्द छन्।

बुटवल उपमहानगरपालिकाका सहकारी तथा रोजगार प्रवर्द्धन शाखाका प्रमुख गुणाकर खनालले रुपन्देहीमा बचतकर्ताको रकम अपचलन गरेर सहकारीहरू बन्द भइरहेको बताए। उनले उपमहानगरपालिकामा दर्ता भएका सहकारीमा भने समस्या नरहेको जानकारी दिए।

‘उपमहानगरमा दर्ता भएका १ सय ३६ सहकारीमा कुनै समस्या छैन। अन्य जिल्लाबाट शाखा बनेर आएकाहरूमा समस्या देखिएको छ,’ उनले भने।

हाल बुटवल उपमहानगरमा २ सय १५ भन्दा बढी सहकारी छन् भने रूपन्देहीमा मात्र झन्डै आठ सय सहकारी छन्। यी सहकारीले घरजग्गा खरिद, गाडी खरिद, लघु जलविद्युत, कृषि क्षेत्रमा बढी लगानी गरेका छन्। कतिपयले विना धरौटीनै लगानी गरेका छन्।

लुम्बिनी प्रदेशको सहकारी विकास बोर्डका उपाध्यक्ष टीकाराम पोखरेलले प्रभावकारी नियमन हुन नसक्दा नै सहकारीमा बेथिति बढेको बताए।

उनले सहकारी पीडितहरूको निवेदन आएर अनुसन्धान भइरहे पनि सञ्चालकहरू सम्पर्कमा नहुँदा बचतकर्ताको रकम फिर्ता हुन नसकेको बताए।

लुम्बिनीमा ४ हजार १ सयभन्दा बढी सहकारी दर्ता छन्। त्यसमा ६ लाख बढि नियमित बचतकर्ता छन्। ती सहकारीमा ६० अर्ब निक्षेप संकलन र झन्डै ४५ अर्ब रूपैयाँ लगानी छ। त्यसमध्ये झन्डै ७ अर्ब मात्र सेयर पुँजी छ।

२३ माघ, २०८०, १९:१५:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।