नेपाल र क्यानडाबीचको खेलको टिकट मूल्य २५० रुपैयाँ
काठमाडौं : नेपाल र क्यानडाबीच हुन लागेको तीन खेलको एकदिवसीय सिरिजको टिकट मूल्य निर्धारण गरिएको छ।
नेपाल क्रिकेट संघ क्यानले टिकट मूल्य निर्धारण गरि सोमबारदेखि टिकट बिक्री पनि थालेको हो।
नेपाल र क्यानडाबीच आगामी बिहीबार, शनिबार र सोमबार विहान सवा ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तीन एकदिवसीय खेल हुँदैछ।
क्यानका अनुसार मैदानमै गएर क्रिकेट हेर्ने दर्शकले प्रतिव्यक्ति २५० रुपैयाँ तिर्नुपर्नेछ। टिकट आइएमई पेमार्फत खरिद गर्न सकिनेछ।
सिरिजका लागि क्यानडा आज साँझ काठमाडौं आइपुग्ने तालिका छ। नेपालले क्यानडासँगको यो सिरिजलाई आईसीसी विश्वकप लिग–२ को तयारीको रूपमा लिएको छ।
यसैबीच खेलाडी छनोटको विषयलाई लिएर केही खेलाडीहरूले असन्तुष्टि समेत व्यक्त गरेका छन्।
प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशबाट खेलेका रिजन ढकालको छनोटलाई लिएर अर्का खेलाडी सौरभ खनालले असन्तुष्टि व्यक्त गरेका हुन्।
खनालले मामा सेलेक्टर भएकाले ढकालको छनोट भएको आरोप सामाजिक सञ्जालमार्फत लगाएका छन्। यस विषयमा क्यानले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन।
माघ २३, २०८० मंगलबार १२:१५:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।