धरहराको नि:शुल्क पार्किङ बन्द गर्न पत्र आएपछि बालेन आक्रोशित

धरहराको नि:शुल्क पार्किङ बन्द गर्न पत्र आएपछि बालेन आक्रोशित

काठमाडौं : धरहरामा शुरू गरिएको नि:शुल्क पार्किङ बन्द गर्न भनेर पत्र आएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह आक्रोशित भएका छन्।

उद्घाटन गरेको २ वर्ष ९ महिनापछि पनि धरहराको निर्माण पुरा नभएको भन्दै उनले पत्र कार्यान्वयन नगर्ने बताएका हुन्।

उनले भनेका छन्- ‘उद्घाटन गरेको २ वर्ष ९ महिनापछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नू भएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ ?’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ।’

तोकिएको समयमा काम सम्पन्न नहुने र भित्तामा नाम लेख्न हतारोमा निर्णय भई उद्घाटन गर्ने प्रवृत्तिलाई भ्रष्टाचारको नयाँ प्रकृति मान्ने राष्ट्रिय नीति बनाउनुपर्ने उनको भनाइ छ।

निर्माण सम्पन्न नभई उद्घाटन गर्ने कुप्रवृत्तिलाई निरुत्साहित गर्न शाहले आग्रह गरेका छन्।

सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्यालठट्टा नगर्न आग्रह गर्दै शाहले सो स्थानमा पार्किङ बन्द नरहेको पनि बताएका छन्।

उनको स्टाटस जस्ताको तस्तै:-

२०७८ वैशाख ११ शनिबार अर्थात आज भन्दा २ बर्ष ९ महिना २० दिन अगाडि तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट " सेतो टावर " उदघाटन भयो । सोही उदघाटनलाई काठमाण्डौँका तत्कालिन मेयर बिद्यासुन्दर शाक्यले भन्नु भएको थियो, "आज एक ऐतिहासिक काम सम्पन्न भएको छ , राणाकालिन अवस्थामा भएको भए केपि ओलि टावर भन्थे " ।

तर केहिदिन अगाडि त्यहि ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, 'धरहरा निर्माण हुदैछ । पार्किङ बन्द गर्नु ।'

उदघाटन गरेको २ बर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपि ओलिले भन्नू भएको थियो 'नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ' भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।

तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ । संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ । निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गरौँ ।

सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगरौँ ।

अन्त्यमा सो स्थानमा  पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि निसुल्क सन्चालन हुँदै छ , अझै ब्यबस्थापन गर्दै लग्नेछौ  ।अहिले धेरैको नजर यहाँ को पार्किङ को ठेक्का लिएर  नेपाल सरकारको सम्पत्ति माथी रजाइ गर्ने मनसाय देखिएको छ  । हामी काठमाडौ महानगरमा रहुन्जेल  कसैको निजि स्वार्थको लागि सार्वजनिक सम्पती प्रयोग हुन दिने छैनौ ।

२२ माघ, २०८०, ०८:५२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।