आर्सनलले लिभरपुललाई हरायो, इव्राहिमले रेड कार्ड पाएपछि थप्यो एक गोल

आर्सनलले लिभरपुललाई हरायो, इव्राहिमले रेड कार्ड पाएपछि थप्यो एक गोल

एजेन्सी : इंग्लिश प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल दोस्रो स्थानमा रहेको आर्सनलसँग पराजित भएको छ।

आइतबार राति आर्सनलको घरेलु मैदान एमिरेट्समा भएको खेलमा घरेलु टोली ३-१ ले विजयी भएको हो।

आर्सनलको जितमा बुकायाे साका, गाब्रिएल मार्टीनेली र लियान्द्रो ट्रोसार्डले एक-एक गोल गरे।

खेलको १४औं मिनेटमा साकाले गोल गर्दै खेलमा आर्सनलका लागि सुरुवाती अग्रता दिलाउँदा पहिलो हाफको अन्त्यतिर लिभरपुलले बराबरी गोल गर्यो।

लुइज डियाजको क्रस आर्सनल डिफेन्डर गाब्रिएल माघालेसले आफ्नै जालिमा हालेपछि लिभरपुलले खेलमा बराबरी गोल गर्यो।

खेलको ६७औं मिनेटमा लिभरपुलका डिफेन्डर भर्जिल भ्यान डाइक र गोलरक्षक एलिसन बीचमा तालमेल नमिलेपछि मार्टीनेलीले गोल गरेका थिए।

८८औं मिनेटमा डिफेन्डर इव्राहिम कोनाटे दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि लिभरपुल दश जनामा सीमित भयो। त्यसको चार मिनेटमा आर्सनलका लागि ट्रोसार्डले अर्को गोल थप्दै आर्सनलको जित सुनिश्चित गरे।

जितपछि आर्सनलले शीर्ष स्थानको दूरी घटाएको छ। दोस्रो स्थानमा रहेको आर्सनलको २३ खेलमा ४९ अंक छ। लिभरपुल २३ खेलमा ५१ अंक सहित शीर्ष स्थानमा कायम छ।

२२ माघ, २०८०, ०८:०३:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।