बौद्धमार्गीको अष्टमहास्थानका केही कथ्य, केही तथ्य-१ : बुद्ध भइसकेपछि पनि सम्पूर्ण हुनबाट चुके राजकुमार सिद्धार्थ

बौद्धमार्गीको अष्टमहास्थानका केही कथ्य, केही तथ्य-१ : बुद्ध भइसकेपछि पनि सम्पूर्ण हुनबाट चुके राजकुमार सिद्धार्थ

बुद्धलाई पढ्दा लाग्छ उनी दार्शनिक हुन्, ध्यान सम्बन्धी उनको विधिलाई हेर्दा लाग्छ मनोविद् हुन्, व्यवहार पढ्दा लाग्छ बुद्ध शान्तिका पर्याय हुन्, जात व्यवस्थालाई नमान्दा लाग्छ समाज सुधारक हुन्, प्रचलित मूल्यमान्यतालाई ठाडै चुनौती दिएको उनको धर्म देशना पढ्दा लाग्छ बुद्ध क्रान्तिकारी हुन् अनि अन्तिममा मन चस्स हुन्छ, महिलालाई सहजै भिक्षुणी नबनाउँदा! महिलालाई किन सहजै भिक्षुणी बनाएनन् बुद्धले?

यसको पनि कारण थाहा पाउँदा झनै चस्स हुन्छ, धर्म छिट्टै नास नहोस् भनेर रहेछ। भिक्षु आनन्दले महिलाहरूलाई भिक्षुणी बनाउनुपर्छ भनि जोड गर्दा बुद्धले भनेका रहेछन् ‘महिलालाई भिक्षुणी नबनाए हजार वर्ष टिक्ने यो धर्म भिक्षुणी बनाए पाँच सय वर्ष मात्रै टिक्छ।’

भिक्षु आनन्दको जोड अनि आमा प्रजापति हजार जना महिलासहित हिँड्दै कपिलवस्तुबाट वैशाली पुगेपछि भने शर्तसहित भिक्षुणी बनाउन तयार भएका थिए गौतम बुद्ध। भिक्षुणीले भिक्षुले भन्दा एक सय बढी नियम पालना गर्नुपर्ने, जति पाको भिक्षुणी भएपनि भर्खरको भिक्षुलाई बन्दना गर्नुपर्ने लगायतका नियम थाहा पाएपछि लाग्यो बुद्ध सम्पूर्ण हुनबाट चुकेका रहेछन्।

भिक्षुणी बनाउँदा पाँच सय वर्ष मात्र धर्म टिक्ने बुद्धको अनुमान झण्डै २६ सय वर्ष हुँदासमेत यो धर्म टिक्नुले गलत साबित हुन्छ। शान्तिका दूत भनेर निरन्तर पढ्दै आएको हाम्रो पुस्ताले ‘बुद्ध वाज बर्न इन नेपाल’ भन्दै घोक्रो फुटाउने गरी बोलिरहेकै छ।

बुद्ध हालको नेपालमा जन्मिए। तर बुद्ध को हुन्, यिनको ज्ञानको अहिले कति सान्दर्भिकता छ? साँच्चै, सिद्धार्थ गौतमबाट बुद्धचाहिँ कसरी बने? बौद्ध धर्म दक्षिणबाट उदाएर उत्तरतिर कसरी सर्याे? नेपालको दक्षिणी भेगमा भन्दा उत्तरी भेगमा किन बौद्ध धर्म फैलियो?

मनभरी प्रश्नसहित २०८० पुस ७ गते ‘बुद्ध सर्किट’ अध्येता बसन्त महर्जन, विपश्यना साधक एवं बुद्धका अनुयायी भेषराज मानन्धरलाई ३० जनाले पछ्याइयो। ३० जनामा अधिकांश विपश्यना ध्यानका साधक थिए।

चर्चामा नआएको पर्साको वीरगञ्जमा पर्ने भिस्वा स्तूपबाट हाम्रो यात्रा शुरू भयो अनि बुद्धको अस्तु रहेको स्थान रामग्राम आएर सकियो। यात्रा त अन्त्य भयो तर बुद्धप्रतिको जिज्ञासा घटेन, झन् बढेर गयो।

माथिका प्रश्नको ज्ञान कति भेटियो आफ्नै ठाउँमा छ, तर यस लेखको उद्देश्य बुद्ध पुगेका स्थान र त्यस स्थानसँग जोडिएको तथ्य र कथ्य प्रस्तुत गर्नु हो। सँगसँगै अहिलेको अवस्था त आइनै हाल्छ।

००० 
त्यो कुनै मामुली त्याग थिएन। कपिलवस्तुका राजकुमार सिद्धार्थ गौतमले सदाको लागि राजसुख त्याग्दै थिए। राजसुख मात्रै होइन, छोरा राहुल लिएर निदाइरहेकी श्रीमती यशोधरा, बुवा शुद्धोदन र कान्छी आमा प्रजापतिलाई समेत त्याग्दै थिए।

कपिलवस्तु जस्तो सम्पन्न राज्य सदाको लागि त्याग्नु सानो कुरा थिएन। किनभने शुद्धोदन पछि राजा उनै सिद्धार्थ गौतम हुने थिए।सत्ता र सुखको लागि आज मात्रै होइन, बुद्धकालमा पनि युद्ध हुन्थ्यो। तर, ज्ञानको भोकले तिर्खाएको ‘भोको’ लाई सत्ताको के मतलब?

ज्ञानको प्यासले सम्पत्ति सुख, यौन सुख, शक्ति सुख, सम्बन्ध सुख उनका लागि फिका हुन थालेको धेरै भइसकेको थियो। अन्ततः भव्य दरबारको सुखसयल छाडेर सिद्धार्थ गौतम दक्षिणतिर हानिए। त्यतिबेला न नेपाल भन्ने देश थियो न भारत नै। त्यतिबेला त कपिलवस्तु भन्ने ठूलो राज्य थियो। सिद्धार्थ गौतम त्यही देशका राजकुमार थिए अर्थात हुनेवाला राजा।

यो एक वा दुई शताब्दीअघिको कुरा होइन। आजभन्दा झण्डै २६ सय वर्षअघिको कुरा हो। राजा शुद्धोदन तत्कालीन गणराज्य कपिलवस्तुका राजा थिए। सुत्केरी हुनेवाला थिइन् रानी मायादेवी। सुत्केरी हुने दिन नजिकिँदै गर्दा मायादेवी सुसारेसहित लुम्बिनी गइन्।  लुम्बिनीमा उनलाई सुत्केरी व्यथा लाग्यो त्यहि जन्मिए सिद्धार्थ गौतम।

सिद्धार्थ गौतम जन्मिएको सात दिनमा मायादेवीको मृत्यु भयो। जन्मदिने आमाको मातृत्वमा हुर्कन पाएनन् सिद्धार्थ। तर, कान्छी आमा प्रजापतिले उनलाई आमाको अभाव हुन दिइनन्।

राजसी ठाँटका साथ सुखसयलमा हुर्केका गौतम बुद्धले यशोधरासँग विवाह पनि गरे। छोरा पनि जन्माए। जसै २९ वर्ष पुगे, उनलाई ज्ञानको प्यासले यति लखेट्यो की राज्य नै छाडे। दक्षिणतिर हानिएका सिद्धार्थ गौतम मगध राज्य पुगे।

०००

बौद्ध धर्मका अध्येता बसन्त महर्जनका अनुसार मगध (अहिलेको राजगिर), त्यतिबेला अन्यभन्दा बढी वैचारिक स्वतन्त्रता भएको राज्य थियो। ज्ञानको प्यास मेटाउन कसिलो समाजमा भन्दा स्वतन्त्र समाजमा नै सकिन्छ भन्ने सिद्धार्थ गौतमलाई थाहा थियो। त्यसैले त नजिक अरु राज्य हुँदा-हुँदै पनि उनले मगध नै रोजेका थिए।

मगध देशका राजा बिम्बिसारले सिद्धार्थ गौतमबारे सोधखोज गरे। उनले आफू कपिलवस्तुको देशको राजकुमार भएको र ज्ञानको खोजीमा मगध आएको बताए। बिम्बिसारले उनको ठूलो श्रद्धा गरे। मगध राज्यमा पुग्नुअघि नै सिद्धार्थले सहयोगीलाई फर्काइसकेका थिए। अनोमा नदीको किनारमा आफ्नो कपाल आफैँले काटी प्रवजित भएर उनले एक सन्यासीले दिएको चीवर लगाए।

राजा बिम्बिसारले उनलाई गृहस्थ जीवनमा नै फर्काउन चाहेका थिए, तर उनले मानेनन्। ज्ञानको खोजीमा लागेका सिद्धार्थ गौतम विचलित हुने कुरा पनि भएन। राजाले ज्ञान प्राप्त गरेपछि पनि धर्मउपदेश गर्न निमन्त्रणा पनि गरे।

उनले तत्कालीन समाजमा नाम कहलिएका दुई विद्वान आलारकालम र उद्दकराम पुत्रलाई क्रमैसँग भेटे। तिनीहरूसँग जति ज्ञान थियो सिद्धार्थले सबै ग्रहण गरे। तर, त्यतिले उनको चित्त बुझाउन सकेन। उनीहरूले संघ सम्हाल्न प्रस्ताव गरे पनि सिद्धार्थले त्यसलाई अस्वीकार गर्दै स्वतन्त्र भएर हिँड्न थाले।

०००
ज्ञानको भोकमा भौतारिएका सिद्धार्थ गौतम बोधगया क्षेत्रमा पुगे। बोधगया नजिकै रहेको ऊरुबेला अलि उचाईंमा रहेको स्थान छ। त्यहाँ गएर सिदार्थ गौतम ध्यान बस्न थाले। उनले शरीरलाई यति दुःख दिए की खानाविना झुत्रा कपडामा तपस्या गर्न थाले। सिद्धार्थको करङ प्रष्टै देखिन थालिसकेको थियो।

तपस्याका क्रममा उनले आफ्नो शरीरलाई अत्यधिक तड्पाए। तर, ज्ञान प्राप्त भएर पनि कमजोर शारीरिक स्थितिले उनी पछारिए। मृत्युको मुखमा नै पनि पुगे। तप गरिरहेकै बखत बुद्धलाई लाग्यो भोको शरीरलाई दुःख दिएर ज्ञान प्राप्त हुँदैन। यसका लागि ध्यान साधना गर्नुपर्छ, ध्यान साधनाका लागि शरीर बनाउनुपर्छ, त्यसपछि मात्र उनले भोजन गर्न थाले।

सिद्धार्थ ज्ञानको खोजीमा हिँडेको थाहा पाएर कपिलवस्तुबाट पाँच ब्राह्मणहरू उनको पछि लागेका थिए। उनले भोजन गरेपछिती पाँच ब्राह्मणले ‘सिद्धार्थले खाना खाएर आफ्नो तपस्या भङ्ग गरे’ भनेर उछितो मात्रै काटेनन्, सिदार्थको साथ पनि छाडे।

सिद्धार्थ एक्लै ध्यान गरिरहे। पिपलको बोटमुनि ध्यान गरिरहेको अवस्थामा सुजाता नामकी एक महिलाले खीर दिइन्। उमाकान्त पौड्यालको बुद्धकालीन समाज किताब अनुसार सुजाता सेनानी गाउँकी थिइन्। राम्रो पति र प्रथम गर्भमा पुत्रलाभ गरेको खण्डमा वृक्षदेवतालाई खीर चढाउने संकल्प गरेकी थिइन् उनले।

दुवै इच्छा पूरा भएपछि वैशाख पूर्णिमाको दिन खीर चढाउन वृक्ष वरपर सफा गर्न लगाइन्। वृक्षमुनि सिद्धार्थ गौतम ध्यानमा मग्न थिए। दासीले यो कुरा सुजातालाई जानकारी दिए। त्यसपछि सुजाताले बुद्धलाई वृक्षदेवता ठानी खीर चढाइन्, सिद्धार्थ गौतमले सुजाताले दिएको खीर ४९ गाँस खाए अनि निरञ्जना नदी पार गरे।

०००
बुद्धले हाडकरङ नै देखिने गरि तपस्या गरेको साँचो हो। सुजाताले दिएको खीर खाएको पनि साँचो हो तर ती स्थान त्यहीँ हुन् कि होइनन् भन्ने कुरा भारतीय पुरातत्व विभागले पनि पत्ता लगाएको छैन। सुजाताले खीर दिएको ठाउँ भनेर मात्रै तीन/चार वटा स्थान देखाए स्थानीय गाइडले हामीलाई। एक भिक्षु समेतले दुई ठाउँ देखाए ‘बुद्धले खीर खाएको ठाउँ’ भनेर।

उरुबेलामा सिद्धार्थ गौतमले हाडछाला देखिने गरि ध्यान गरेको बुद्धको मुर्ति बनाइएको छ। लुङदारै लुङदारले सुशोभित गरिएको छ, तर त्यहीँका पुजारीले भने त्यसलाई ढुंङ्गेश्वरी माता रहेको जनाउ दिए। हिन्दुहरू देवता मानेपनि बौद्ध दर्शानार्थीको घुइँचो। भित्र बुद्धको मुर्ति। यस्तो किन त?

भारतमा अहिले हिन्दुवादीको वर्चश्व छ। सत्ता हिन्दूवादी दलकै नेतृत्वमा चलिरहेको छ। उरुबेला पनि हिन्दूहरूकै कब्जामा परेको हो। 

०००

सुजाताले खीर दिएपछि निरञ्जना नदी तरेर पिपलको बोटमुनि ध्यान मुद्रामा रहे सिद्धार्थ गौतम। ध्यान गर्दा उनले बाल्यकाल स्मरण गरे। बौद्धमार्गीका अनुसार पाँच वर्षको हुँदा सिद्धार्थ गौतम ध्यान मुद्रामा बसेका थिए, त्यो समयमा उनले आनापानको सतिको अभ्यास गरेका थिए। ध्यान गरिरहेको बेला नै सिद्धार्थ गौतमका बुवा सुद्धोदनले सिद्धार्थ गौतमलाई बन्दना गरेका थिए।

त्यही ध्यान सम्झेका सिद्धार्थले आनापान सतिको अभ्यास गरे। प्रथम, द्वृतीय, तृतीय र चतुर्थ ध्यान गर्र्दै विपश्यना ध्यान गरिरहे। ज्ञान प्राप्त नभइन्जेल उनी त्यो वृक्षबाट नउठ्ने अठोट गरे। त्यही राति जे भयो, त्यसपछि उनी सिद्धार्थ गौतम रहेनन्, बुद्ध बने।

पौड्यालको पुस्तक अनुसार दुःमुक्तिको मार्ग साक्षात्कार गरेर बोधीज्ञान लाभ गरे। उनको चित्त संस्काररहित भएकाले तृष्णा समूल नष्ट भयो। भवसंसरणबाट उनी सधैं मुक्त भए। बुद्धले दुःख छन्, दुःखका कारण छन्, यसलाई निर्मुल पार्न सकिन्छ र यसका लागि अष्टांगिक मार्गको विकास गरे।

वैशाख पूर्णिमा कै दिन जन्मिएका बुद्ध त्यही दिनमा ज्ञान प्राप्त गरे। ज्ञान प्राप्त गरेपछि बुद्धलाई आफूले पाएको ज्ञान अन्यत्र पनि बाँड्नुपर्छ भन्ने लाग्यो अनि बुद्ध हिँडे ज्ञान बाड्न!

०००

फेरि अहिलेको बोधगया
बौद्धमार्गीको लागि महत्वको ठाउँ। पुसको ठण्डीमा खुला तालु सहित बौद्ध भिक्षुहरू लामबद्ध थिए। शान्त चुपचाप। मोबाइल लैजान नपाइने।

हाम्रो टोलीले मोबाइल रुममा नै छाडेको थियो। केही वर्ष अघिसम्म मोबाइल लैजान पाइन्थ्यो। बौद्धमार्गीको आवरणमा जब फोन गरेर भित्र मान्छे बोलाएर बम विस्फोट गराइयो त्यसबेला देखि भने फोन लैजान पाइँदैन। बोधी वृक्षमा ध्यान गर्न जान्छन् बुद्धका अनुयायीहरू।  ध्यान गर्नेलाई मोबाइलको के खाँचो पनि र?

अध्येता बसन्त महर्जनका अनुसार बोधगयामा आज होइन, १३औं शताब्दीमा मुसलमानी आक्रमण भएको थियो र स्थानीय राजा भागेर लुक्न जानुपरेको थियो। बोधिमण्डप मन्दिरभित्र रहेको बुद्धको विशाल र सुन्दर मूर्तिलाई बडो कठिन र चलाखीका साथ जोगाउनु परेको थियो। त्यस क्षेत्रबाट मुसलमानी शासकहरूलाई धपाउने काम वर्तमान नेपालको जुम्ला जिल्लाको सिंजा उपत्यकालाई राजधानी बनाई बसेको खश साम्राज्यका राजा अशोक चल्लका सेनाहरूबाट भएको थियो किम्वदन्ती छ।

खैर! जोगिएको बुद्धको मूर्तिको बन्दनाको लागि डिसेम्बरको पहिलो हप्तामा भीड थियो। त्यसमाथि तिब्बतका बौद्ध धर्म गुरु दलाई लामा आएपछि भीड थप बढ्ने नै भयो।

बोधगयामा पनि हिन्दूहरुको अत्याक्रमण देख्न सकिन्छ। अब केही कथ्यमा जाऔँ। महाबोधी मन्दिरको अगाडि पञ्चपाण्डवको मन्दिर भनेर पाँच वटा मूर्तिहरू राखिएका छन् तर ती मूर्ति अन्यको नभएर बुद्धका हुन् भन्ने कुरा सजिल्यैसँग चिन्न सकिन्छ। ती मूर्तिहरू यताउता परेका त्यहीँका मूर्तिहरू उठाएर ल्याई पञ्चपाण्डव बनाइएका हुन्।

हिन्दू धर्मशाष्त्रमा पाँच पाण्डवको कथा सुन्न पाइन्छ तर बौद्ध धर्मग्रन्थमा कहि कतै नभएको पाँच पाण्डवको कथा कसरी यता आयो? केही दशकअघिसम्म पनि बोधगयाको यो महाबोधी मन्दिरलाई हिन्दू मन्दिरको रूपमा पूजा गर्ने हिन्दू पण्डितकै कब्जामा थियो।

पण्डितले हिन्दू देवताको रूपमा अधिकार जमाएको भएपनि बौद्धहरू त्यहाँ बुद्ध भनेरै श्रद्धा व्यक्त गर्न जान्थे र हिन्दूहरूको कब्जालाई चुपचाप हेरेर फर्कन्थे। बौद्धहरूले ठूलो र लामो समयको आन्दोलन गरेपछि केही सुधार त भयो। तर, अहिले पनि यसको सञ्चालन गर्ने ट्रष्टमा हिन्दूहरूकै बाहुल्यता पाइन्छ।

बिहान ढल्कनै लाग्दा भिक्षुको आवरणमा माग्न आउने बोधगयामा उस्तै देखिन्छ। हात पसारेर ‘दश रुपे देदो’ भन्ने देख्दा जो कोहीलाई दिक्क त लाग्छ नै। साँचो भिक्षुले त हातै पसारेर माग्दैनन् किनभने नगद हातले छुन हुँदैन भन्ने उनीहरूको विश्वास छ।

ज्ञान बाड्ने बुद्धको प्यास
बोधि (ज्ञान) प्राप्त गरेर अर्थात् बुद्धत्व लाभपछि बुद्ध बनेका गौतम बुद्ध, धर्म उपदेश गर्न ऋषिपतन मृगदावन पनि भनिने सारनाथ गए। साधनाका बेला आफूलाई छाडेर जाने पाँच जना भिक्षु त्यति बेला त्यहीँ बसिरहेका थिए। पाँच ब्राह्मणले बुद्ध आउँदै गरेको टाढैबाट देखे।

बुद्ध आफूतिर आइरहेको देखेर उनीहरूले आपसमा सल्लाह गरे। ‘तपभ्रष्ट सिद्धार्थ यता आउँदै छन् हामी कसैले पनि उनको स्वागत नगरौँ’ भने। बुद्ध जति–जति नजिक आए पाँच ब्राह्मणहरूले आफूले गरेको वाचा नै बिर्सिए। बुद्धको अनुहारमा असीम शान्ति र आँखामा असीम करुणा देखेपछि उनीहरू अडिन सकेनन्। एकले बुद्धले बोकेको पात्रचिवर लिए, दोस्रोले आसन ओछ्याए, तेस्रोले खुट्टा धुने पानी राखिदिए।

बुद्धले आफूलाई बुद्धत्व प्राप्त गरेको र त्यही कुरा भन्न आएको बताए पनि। तर कसैले पत्याएनन्। बुद्ध हार खाने व्यक्ति थिएनन्, उनले फेरि भने, ‘यसअघि मैले कहिल्यै दावी गरेको थिइन्, अहिले गरेको छु। केही न केही भएर त होला नि!’

बुद्धले यति भनेपछि पाँच ब्राह्मणले उनको कुरा सुन्न राजी भए। उनको उपदेश शुरुमा कौण्डिन्यले बुझे। त्यसपछि अन्य चार जनाले बुझे। चारै जना प्रवजित भई भिक्षु बने। त्यसपछि काशीका सेठपुत्र यशकुमार र उनका पचपन्न जना साथीहरू गरी जम्माजम्मी ६० जना भिक्षु भए। उनीसमेत गरेर भवचक्रभञ्जन गर्ने अरहन्तको संख्या ६० पुगेपछि बुद्धले सबैलाई एकै ठाउँ नबस्न यो ज्ञान बाड्न चारैतिर फैलन सल्लाह दिए। बुद्ध आफू भने मगध राज्य तिर लागे।

०००

नेपाल र भारतका धार्मिक स्थलहरूमा ‘माग्ने’ कुरै नगरौँ। गरिबिले आक्रान्त भएर गरिखाने बाटो नै नभएपछि माग्नु स्वभाविक हो तर धार्मिक स्थलमा सरसफाइ काम गर्ने चौकीदार गर्नेले समेत ‘१० रुपैँया देदो’  भन्दै माग्नु चाहिँ वाक्कै लाग्ने। यो ठाउँमा पनि माग्नेले छाडेनन्। पत्रकार राजेन मानन्धरले हाँसोमा भने, ‘माग्नेको राजधानी आउने अनि माग्ने धेरै भएर हुन्छ?’

सारनाथमा बुद्धले पहिलो प्रवचन दिएको स्थान उनको बिहार र अन्य भिक्षुहरूको अध्ययन कक्ष र बिहारहरूको अवशेष अहिले पनि देख्न सकिन्छ।  बौद्ध बिहारको समान विशेषता के देखियो भने एक भिक्षुको लागि एक कोठा, पानीको लागि इनार, सामूहिक ध्यान गर्नको लागि छुट्टै बिहार। सारनाथको ठूलो क्षेत्र ओगटेको यस क्षेत्रमा बुद्धले ज्ञान बाडेको थिए भन्ने अवशेष पत्ता लगाउने अंग्रेजहरू नै थिए।

उपनिवेश हुनु स्वतन्त्र राष्ट्रको लागि सैह्य कुरा त होइन तर जति ऐतिहासिक उत्खनन् भएका छन् त्यो भने साह्रै नै सराहनीय देखिन्छ।

०००

मगधमा बुद्धत्व प्राप्त गरेपछि पहिलो पटक जाँदै थिए बुद्ध । बुद्ध जहाँ जान्थे पैदल नै जान्थे।

मगध राज्य पुगेपछि त्यहाँका राजा बिम्बीसार बुद्धप्रति अनुग्रहित मात्रै भएनन् पूरै प्रभावित थिए। त्यसपछि बिम्बीसारले बाँसैबाँसले भनेको बिहार बेणुवन विहार उपहार पनि दिएका बुद्ध त्यहाँ केही समय बसे पनि।

बुद्ध मगधमा पुग्नु अगावै बाटोमा तीन जटिल ब्राह्मण दाजुभाईसहित उनका हजार शिष्यहरूलाई बौद्ध भिक्षु बनाइसकेका थिए। ती जम्मैलाई मगधमा लिएर गएका थिए। त्यही भिक्षु संघमा बसी राजा बिम्बिसारले बुद्धबाट पहिलो पल्ट धर्म उपदेश सुनेका थिए र श्रद्धाले विहार दान गर्नुका साथै बुद्धको आजिवन उपासकका रुपमा समर्पित भएका थिए।

अहिलेको बेणुबन!
वेणुबनको अबशेष अहिले रहेपनि बाँसको कुनै बिहार भेटिँदैन। सिद्धार्थ गौतम बुद्ध बनिसकेपछि ध्यानका विभिन्न मुद्रामा बुद्धका मुर्ति बनाइएको छ। बुद्धले प्राप्त गरेको पहिलो बिहार पार्कमा परिणत भएको छ। पार्कमा जानेले बुद्धको मुर्तिसँग साक्षात्कार गर्दै नाचिरहेको पनि देखियो।

अझ सबैभन्दा रमाइलो कुरा त गेटमा टिकट काट्ने बेला नै कर्मचारीले यस्तो खराब व्यवहार देखाए कि, टेबलमाथि गोडा राखेर नै हाम्रो टिकट काटिदिए। बुद्धभूमि अनि अनुशासनहीनता अलि नपचेको हो की!

क्रमश :

माघ २०, २०८० शनिबार १३:४८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।