अतिरिक्त समयमा अष्ट्रेलियालाई हराउँदै दक्षिण कोरिया एसियन कपको सेमिफाइनलमा, ओनिललाई ‘रेड कार्ड’

अतिरिक्त समयमा अष्ट्रेलियालाई हराउँदै दक्षिण कोरिया एसियन कपको सेमिफाइनलमा, ओनिललाई ‘रेड कार्ड’

एजेन्सी : अष्ट्रेलियालाई हराउँदै दक्षिण कोरिया कतारमा जारी एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

१० जनामा समेटिएको अष्ट्रेलियामाथि दक्षिण कोरियाले २-१ को जित निकाल्न सफल भएको हो।

४१औं मिनेटमा अस्ट्रेलियाका लागि क्रेज गुडविनले गोल गरेर अग्रता लिएपछि पछि परेको दक्षिण कोरियाले दोस्रो हाफको इन्ज्युरी समयमा बराबरी गर्दै खेललाई अतिरिक्त समयमा धकेल्यो।

इन्ज्युरी समयको पाँचौं मिनेटमा कप्तान सन ह्यूङ मिनले जितेको पेनाल्टीमा ह्वांग हि-चानले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याई अतिरिक्त समयमा धकेलेको थिए।

प्रि-क्वाटरफाइनलमा साउदी अरेबिया विरुद्ध इन्ज्युरी समयमा बराबरी गर्दै टाईब्रेकरमा जित हासिल गरेको कोरियाले पुनः इन्ज्युरी समयमा बराबरी गोल गरेको थियो।

अतिरिक्त समयको १३औं मिनेटमा कोरियाले अग्रता लियो। कप्तान सनले उत्कृष्ट फ्रिकिक प्रहारमा गोल गर्दै कोरियालाई अग्रता दिलाए।

अतिरिक्त समयको पहिलो हाफको अन्त्यतिर एइडन ओ’निलले रातो कार्ड पाएपछि अष्ट्रेलिया १० जनामा सीमित भएको थियो।

उनले दक्षिण कोरियाली खेलाडीको खुट्टामा जानीजानी टेकेका थिए। सुरू रेफ्रीले एल्लो कार्ड मात्र देखाए पनि भीएआर चेकपछि रेडकार्ड नै दिएका हुन्।

त्यसपछि पनि कोरियाले अवसरहरू सिर्जना गरेपनि थप गोल भने गर्न सकेन।

दक्षिण कोरियाले अब सेमिफाइनलमा जोर्डन विरुद्ध खेल्नेछ। जोर्डनले शुक्रबार नै ताजिकिस्तान विरुद्ध जित हासिल गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको थियो।

शनिबार बाँकी दुई क्वाटरफाइनल खेल हुनेछन्। साँझ ५:१५ बजे इरान र जापान तथा राति ९:१५ बजे घरेलु टोली कतार र उज्बेकिस्तान भिड्दैछन्।

२० माघ, २०८०, ०७:२६:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।