शंकर पोखरेलको पत्रले कर्णालीका जिल्ला-जिल्लामा किचलो, गुटबन्दीका कारण अधिवेशन नै अनिश्चित

शंकर पोखरेलको पत्रले कर्णालीका जिल्ला-जिल्लामा किचलो, गुटबन्दीका कारण अधिवेशन नै अनिश्चित

सुर्खेत : एमाले कर्णाली प्रदेश कमिटीको दोस्रो बैठक माघ ५ र ६ गते वीरेन्द्रनगरमा बस्ने योजना बन्यो। पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहने भनिएको बैठकमा आन्तरिक संगठन सुधारलगायतका विषयमा छलफल हुने भनियो।

तर, कर्णाली एमालेमा देखिएको विवाद र किचलोका कारण प्रदेश कमिटीको दोस्रो बैठक बस्न सकेन। सोही दिन ओली मध्यपश्चिम विश्वविद्यालयको नवनिर्मित भवन उद्घाटन गरेर काठमाडौं फर्किए।

विवादको मूख्य जड थियो, मंसिर ११ गते एमाले महासचिव शंकर पोखरेलले पठाएको पत्र। उक्त पत्रले कर्णालीमा एमालेभित्र असन्तुष्टि चुलिएको थियो।

प्रत्यक्ष निर्वाचनबाट चुनिएका उम्मेदवारलाई जिम्मेवारीबाट हटाउन पार्टी केन्द्रले गरेको निर्णयलाई लिएर कर्णालीमा एमाले नेता, कार्यकर्ताबीच नै मनमुटावको अवस्था उत्पन्न भएको छ।

कात्तिक २२ मा सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले १० देखि १५ असोजमा सम्पन्न एमाले प्रथम कर्णाली प्रदेश अधिवेशनबाट उपसचिव पदमा निर्वाचित भएका रमेशकुमार शाहीलाई जिम्मेवारीबाट मुक्त गरी पद्मा खड्कालाई बहाल गर्ने निर्णय गरेको थियो।

पत्रमा शाहीलाई प्रदेश कमिटीमा मनोनीत गने निर्णयसमेत भएको थियो। सोही अनुसार माघ ९ गते खड्काले पदभार ग्रहण गरिन् । तर, प्रदेशको असर पार्टीको जिल्ला तहसम्म पुग्यो।

जिल्लामा किचलो बढ्दै
प्रदेश अधिवेशनपछि एमालेको गुटबन्दीको प्रभाव जिल्लामा समेत पर्न थालेको छ।

धबार मात्रै एमाले सुर्खेत जिल्ला कमिटीको आगामी फागुन ४ गतेदेखि हुने भनिएको जिल्ला अधिवेशन स्थगित गरेको छ। जिल्ला अध्यक्ष अमृत विसीले अधिवेशन तयारीका लागि गठित सम्पूर्ण समिति र उप-समितिहरू समेत विघटन गरेको सूचना जारी गरेका छन्।

अध्यक्ष विसीले पत्रकार सम्मेलनको आयोजना गर्दै अधिवेशन स्थगित गरिएको जानकारी दिएका हुन्।

नवौं अधिवेशनको मिति घोषणा गरिए पनि एमाले पार्टी साझा तरिकाले नचलेको र गुटबन्दी झाङ्गिदै गएको अवस्थामा अधिवेशन गर्नुको कुनै औचित्य नरहेको अध्यक्ष विसीको भनाइ छ।

‘स्थगित भएको अधिवेशनका उपयुक्त समयमा मिति तोकिने छ। पार्टीभित्र गुटबन्दी झाङ्गिदै गएपछि यो निर्णय गर्न बाध्य भएको हुँ,’ उनले भने, ‘जुन कुरा प्रदेश अधिवेशनदेखि हालसम्मका गतिविधिले पनि प्रष्ट देखाएको छ।  यसलाई पार्टी शुद्धिकरणको अभियानको रूपमा बुझिदिनुहोला।’

उनले आठौं जिल्ला अधिवेशनपछि आन्तरिक प्रतिस्पर्धालाई व्यवस्थित तथा वैज्ञानिक तवरले सञ्चालन गर्न नसकिएको बताउँदै गुटबन्दी गरेर नेतृत्वलाई असफल बनाउने प्रयास भएको आरोप लगाएका छन्।

‘केहि व्यक्तिको इसारामा पार्टीलाई नचाउने प्रयत्नहरू भएको छ। जिल्ला कमिटीको बैठक हलमा तालाबन्दी गरी सदस्यहरूलाई बन्धक बनाएर निर्णय गर्न थालिएपछि मैले यो निर्णय गर्न बाध्य भएको हुँ,’ उनले भने, ‘कर्णाली अधिवेशनपछि सुर्खेतको पार्टी संगठनमा देखिएको असहजता विभिन्न कार्यक्रम र बैठक बहिस्कार गरिएका छन्। यसले पनि पार्टीभित्र गुटबन्दी घेरिएको स्पष्ट देख्न सकिन्छ।’

अध्यक्ष विसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘हाल पार्टी कमिटीभित्र संस्थागत गुटबन्दी झाङ्गिएको, स्थानीय पार्टी कमिटी संस्थागत रूपमा सञ्चालन नभएको, जनवर्गीय संगठनहरू प्रभावकारी नभएको अवस्था छ। यी विषयवस्तुलाई ठोस ढङ्गले सम्बोधनका लागि आगामी दिनमा कार्ययोजना बनाई अघि बढ्नुको विकल्प छैन।’

अधिवेशन स्थगित गरिनु पार्टीको हितविपरीत भएको बताउँदै जिल्ला उपाध्यक्ष कुलमणि देवकोटाले भविष्यमा अध्यक्षलाई नै समस्या पर्ने चेतावनी दिए।

‘उहाँकै अध्यक्षतामा बैठक बसेर अधिवेशनको मिति तोकिएको हो,’ उनले भने, ‘अधिवेशन स्थगितको निर्णय संगठनको हितविपरीत छ, त्यसले भोलिका दिनमा उहाँलाई नै समस्या पार्नसक्छ।’

जिल्ला सचिव कविन्द्रकमार केसीले अब पार्टीको माथिल्लो तहको निर्देशनअनुसार चल्ने बताए।

उनले भने, ‘अब के गर्ने भन्ने विषयमा कार्यसमिति र पार्टीको माथिल्लो तहले निर्देशन देला।’

यसअघि बसेको जिल्ला कमिटीको बैठकले अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न समिति तथा समितिका संयोजकहरू समेत तोकेको थियो।

राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखनमा स्वयं अध्यक्ष विसी संयोजक थिए। प्रतिनिधि व्यवस्थापनमा कुलमणी देवकोटा, प्रचारप्रसार उपसमितिमा गंगाराम तिमिल्सना, आर्थिक व्यवस्थापन उपसमितिमा डम्मर तिवारी र भोजन व्यवस्थापनमा पुर्णबहादुर पौडेल संयोजक रहेका थिए।

सुर्खेतमा एमालेका १० हजार ५५८ जना संगठिन सदस्य रहेका छन्। कर्णालीका १० जिल्लामध्य पुसमा मुगु जिल्ला अधिवेशन भइसकेको छ। त्यहाँ पनि पार्टीका माथिल्लो नेतृत्वले एकलौटी गरेको भन्दै अधिकांश नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

त्यस्तै दैलेखले यहि माघ २८ गतेदेखि जिल्ला अधिवेशनको मिति तय गरेको छ भन्ने अन्य सात जिल्लामा अझै अधिवेशनको टुंगो लागेको छैन।

१८ माघ, २०८०, ०८:४३:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।