६५ वर्षीय​​​​​​​ सुल्तान इब्राहिम बने मलेसियाको नयाँ राजा

६५ वर्षीय​​​​​​​ सुल्तान इब्राहिम बने मलेसियाको नयाँ राजा

एजेन्सी : सुल्तान इब्राहिम मलेसियाका नयाँ राजा बनेका छन्।

मलेसियाको जोहोर राज्यमा शासन गर्ने अर्बपति सुल्तानले बुधबार क्वालालम्पुरस्थित नेशनल प्यालेशमा नयाँ राजाको रुपमा शपथ लिएका हुन्।

मलेसियाको १७ औँ राजामा नियुक्त भएका उनी देशकै अर्बपतिमा गनिन्छन्। ६५ वर्षीय सुल्तान इब्राहिमको घर जग्गादेखि टेलिकम र पावर प्लान्टसम्मको व्यापार साम्राज्य छ।

उनी दक्षिण राज्य जोहोरका सुल्तान थिए। मलेसियाका राजा अल सुल्तान अब्दुल्ला सुल्तान अहमद शाहको पाँच वर्षे कार्यकाल समाप्तिसँगै उनी विदा भएपछि सुल्तान इब्राहिम मलेसियामा नयाँ राजा नियुक्त भएका हुन्।

मलेसियन नागरिकहरू राजालाई याङ दि पर्तुआन अगोङ भन्छन्। मलेसियामा देशको ९ मले राज्यका सुल्तानहरूको बैठकले राजा चयन गर्ने प्रणाली छ। गत वर्षको अक्टोबर २३ मा बसेको बैठकले ६५ वर्षीय सुल्तान लाई देशको १७ औँ राजा नियुक्त गर्ने निर्णय गरेको थियो।

मलेसियामा राजाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सल्लाहअनुसार काम गर्छ तर विशेष परिस्थितमा अख्तियार गर्न पाउने गरी विशेष अधिकारको समेत प्रबन्ध गरिएको हुन्छ। प्रधानमन्त्रीलाई हटाउने, संसद विघटन गर्ने लगायतका अधिकार राजालाई हुन्छ तर त्यसका लागि विशेष परिस्थिति आवश्यक रहन्छ। सामान्य अवस्थामा भने राजाले त्यो अधिकार प्रयोग गर्न पाउँदैन।

सन् २०२० को राजनीतिक संकटका बेला सुल्तान अब्दुल्लाले प्रधानमन्त्री महथिर मोहम्मदलाई राजीनामा गराएका थिए।

माघ १७, २०८० बुधबार १७:२५:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।