‘राष्ट्रिय गौरवको आयोजनामा समेत कपीपेस्ट भएको सुनिन्छ, डीपीआर आतङ्कबाट बाहिर निस्किनुपर्यो’
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) आतङ्क’बाट मुलुकलाई बाहिर निकाल्न आवश्यक रहेको बताएका छन्।
बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलमा बोल्दै उनले राष्ट्रिय गौरवको आयोजनामासमेत कपीपेस्ट भएको बताए।
उनले डीपीआर आतङ्कबाट बाहिर निस्केर साँच्चैको अनुगमन र निर्माणको काममा प्रवेश गर्न आवश्यक रहेको बताए।
उनले भने, ‘समय र लागतमात्र नभएर गुणस्तर हेर्ने हामीले कहिले हो? डीपीआर बनाउने भनेपछि त्यसमा त पैसा निस्कन्छ। यो डीपीआर आतङ्कबाट मुलुकलाई बाहिर निकाल्न पर्यो। कस्ता-कस्ता राष्ट्रिय गौरवको आयोजनामा कपीपेस्ट भएको सुनेका छौँ। डीपीआर आतङ्कबाट बाहिर निस्केर साँच्चै अनुगमन र निर्माणको काममा कहिले प्रवेश गछौं?’
अनुगमन गर्ने प्रभावकारिता, त्यसमा प्राविधिक पक्ष र त्यसले औंल्याएका विषयहरूमा दण्ड र पुरस्कृत गर्न सक्ने व्यवस्था गर्नुपर्ने उनको भनाई छ।
उनले भने, ‘अनुगमन गर्ने, त्यसमा प्राविधिक पक्ष र त्यसले औंल्याएका विषयहरूमा दण्ड र पुरस्कृत गर्न सक्ने व्यवस्था गर्न सक्ने क्षमता हुने छ कि छैन, यो महत्वपूर्ण कुरा हो। अनुरोध गर्न चाहन्छु, अनुगमन कसले गर्ने, अनुगमनकर्ताको मापदण्ड केके हो? देखिएको त्रुटी सच्याउने उपाय के हो, यो महत्वपूर्ण छ।’
माघ १७, २०८० बुधबार १६:५१:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।