नक्कली अन्तःशुल्क स्टिकरबारे बल्ल अनुसन्धान गर्दै राजश्व अनुसन्धान विभाग
काठमाडौँ : अन्तःशुल्कको स्टिकरको दुरुपयोग गर्दै नक्कली मदिरा विक्री गर्ने समूहमाथि कालोबजारीमा मात्रै अनुसन्धान र अभियोजन हुने गरेकोमा अब राजश्व अनुसन्धान विभागले समेत अनुसन्धान गर्ने भएको छ।
नेपालमै पहिल्यै प्रयोग भइसकेका अन्तःशुल्कको स्टिकर पुन दोहोर्याएर प्रयोग गर्ने र भारतबाट नक्कली अन्तःशुल्क स्टिकर नेपालमा ल्याएर प्रयोग गर्नेहरू पक्राउ पर्ने गरे पनि उनीहरूमाथि प्रहरीले कालोबजारीमा मात्र अनुसन्धान गर्दा राजश्व छली जस्तो गम्भीर अपराधमा उन्मुक्ति पाउँदै आएका थिए। नक्कली अन्तःशुल्कको प्रयोगबारे विस्तृत अनुसन्धानको अभावमा भारतबाट कसरी नेपालमा नक्कली स्टिकर आइरहेको छ भन्ने समेत खुल्ने गरेको छैन।
उकेराले यसबारे विस्तृत समाचार प्रकाशित गरेपछि राजश्व अनुसन्धान विभागले समेत पक्राउ परेकाहरूले प्रयोग गरेको अन्तःशुल्क र नक्कली अन्तःशुल्कको स्टिकरबारे विस्तृत अनुसन्धान सुरु गरेको छ।
विभागका महानिर्देशक नवराज ढुंगानाले हालै नक्कली मदिराको विक्रीमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरूमाथि अन्तःशुल्क स्टिकरको प्रयोगबारे समेत अनुसन्धान भइरहेको उकेरालाई जानकारी दिए।
‘यो त ठुलो राजश्व छली मात्रै होइन सरकारी कागजात किर्ते, कालोबजारी समेत हो,’उनले भने, ‘हामीले अनुसन्धान गरिरहेका छौँ। केही दिनपछि उच्च अदालत पाटनमा मुद्दा लैजान्छौँ।‘
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले माघ तीन गते राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका विभिन्न नक्कली मदिरा विक्रीमा संलग्न रहेको आरोपमा ९ जनालाई पक्राउ गरेको थियो। उनीहरूबाट प्रहरीले अन्तःशुल्क स्टिकरहरू समेत फेला पारेको थियो। उनीहरूको बयानबाट सक्कली रक्सीमा टाँसिएको अन्तःशुल्क स्टिकर पार्टी प्यालेसहरूमा काम गर्नेहरूबाट सङ्कलन गरेर पुन प्रयोग गर्ने गरेको र केही भारतबाट ल्याउने गरेको खुलेको थियो। उनीहरूले सक्कली अन्तःशुल्कको स्टिकर पार्टी प्यालेसका कामदारहरूसँग प्रतिगोटा २० रुपैंयामा किन्ने गरेको बयान दिएका थिए।
विनोद कार्की, भगवान् बस्नेत, गोपाल पुन मगर, हरि वली, मनोज खत्री, गौरव तामाङ र गोपीकृष्ण श्रेष्ठ समेत विदेशी ब्रान्डका सक्कली बोतलमा नक्कली मदिरा राखेर विक्री गरेको आरोपमा पक्राउ परेका थिए।
उनीहरूबाट अहिलेसम्म त्यस्ता अन्तःशुल्क स्टिकर कुन-कुन पार्टी प्यालेसबाट ल्याउने गरेका थिए भन्ने बयानमा खुलेको छैन। भारतबाट ल्याउने दाबी गरे पनि कहाँबाट, कति परिणाममा ल्याएर प्रयोग गर्ने गरेको र त्यसको गुणस्तर सक्कलीभन्दा के फरक छ खुलेको छैन।
एकै स्टिकर दोहोर्याएर प्रयोग गर्दा राजश्व छली भएको त छ नै नक्कली रक्सी सक्कली भएको भन्दै ग्राहक समेत सहजै झुक्किने गरेका छन्।
अहिले नेपालमा प्रयोग हुने सक्कली अन्तःशुल्कको स्टिकर भारतमा रहेको मद्रास प्रिन्टिङ प्रेसले छाप्ने गरेको छ। सोही प्रेसले अन्य देशमा छापेको यस्तै अन्तःशुल्क स्टिकरमा आवश्यक सुरक्षा प्रणाली नअपनाउँदा कालोबजारीमा संलग्नहरूले नक्कली स्टिकर छापेर दुरुपयोग गरेको खुलासा भएको थियो।
मद्रासले श्रीलङ्का, केन्या र सुडानको अन्तःशुल्कको स्टिकर छाप्ने ठेक्का पाएको थियो। त्यहाँ मदिरामा प्रयोग भएको स्टिकर नक्कली रहेको खुलेपछि विस्तृत अनुसन्धानमा सम्झौता अनुसार मद्रास प्रिन्टिङ प्रेसले सुरक्षा प्रणाली नै नराखी स्टिकर छाप्दा सक्कली र नक्कली नै छुट्टाउन नसकेको खुलेको थियो।
अन्य देशको अन्तःशुल्कको स्टिकर छपाइमा बदमासी गरेकै कम्पनीले मिलेमतोको आधारमा नेपालमा समेत अन्तःशुल्कको स्टिकर छाप्ने ठेक्का पाएको थियो। मद्रास प्रिन्टिङ प्रेस स्मार्ट लाइसेन्सको छपाइमै बदमासी गरेको बदनाम कम्पनी हो।
नक्कली रक्सीको बोतलमा राजस्वको सक्कली ‘स्टिकर’, दोहोरी र लाउन्ज मुख्य ग्राहक
माघ १६, २०८० मंगलबार १५:१८:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।