नक्कली रक्सीमा सक्कली स्टिकर : हजार राजश्व उठ्ने अन्तःशुल्क स्टिकर २० रुपैयाँमा विक्री, भारतमा छापिने खुल्दा पनि चासै छैन
काठमाडौँ : नक्कली रक्सीका बोतलहरूमा फेला परेको अन्तःशुल्क स्टिकर सक्कली रहेको देखिएको छ। प्रहरीको अनुसन्धानमा नक्कली रक्सीको कारोबारमा संलग्न गिरोहका सदस्यहरूले पार्टी प्यालेसका कर्मचारीहरुबाट सक्कली स्टिकर किन्ने गरेको खुलेको हो।
कर्मचारीले सक्कली रक्सीको बोतलमा टाँसेको अन्तःशुल्क स्टिकर नच्याती निकालेर त्यसैलाई प्रतिगोटा २० रुपैयाँमा नक्कली रक्सी कारोबारीहरूलाई बेच्ने गरेका थिए।
माघ तीन गते काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका विभिन्न नक्कली रक्सी विक्रीमा संलग्न रहेको आरोपमा ९ जनालाई पक्राउ गरेको थियो। उनीहरूबाट प्रहरीले अन्तःशुल्क स्टिकरहरू समेत फेला पारेको थियो।
उनीहरूको बयानबाट सक्कली रक्सीमा टाँसिएको अन्तःशुल्क स्टिकर पार्टी प्यालेसमा काम गर्नेहरूले सङ्कलन गरेर राखिदिने र प्रतिगोटा २० रुपैंयामा किनेर ल्याउने गरेको खुलेको हो।
अहिलेसम्म त्यस्ता अन्तःशुल्क स्टिकर कुन-कुन पार्टी प्यालेसबाट ल्याउने गरेका थिए भन्ने बयानमा नखुलेको प्रहरीको दाबी छ।
एकै स्टिकर दोहोर्याएर प्रयोग गर्दा राजश्व छली भएको छ नै नक्कली रक्सी सक्कली भएको भन्दै ग्राहक समेत सहजै झुक्किने जोखिम समेत देखिन्छ।
नक्कली स्टिकर प्रयोग भएकोबारे आन्तरिक राजश्व विभागले समेत चासो राखेको छ। विभागका महानिर्देशक दीर्घराज मैनालीले नक्कली रक्सीमा सक्कली अन्तःशुल्क स्टिकर टाँसिनु गम्भीर अपराध रहेको बताए।
'यसमा हाम्रो ध्यानाकर्षण भएको छ,’मैनालीले भने, ‘प्रहरीले जो जसलाई पक्राउ गरेको छ उनीहरूमाथि राजश्व अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेको छ।’
१ हजार ८ सयको अन्तःशुल्क स्टिकर पुन बिक्री गर्दा २० रुपैयाँ
उपत्यका अपराध प्रहरी अनुसन्धान कार्यालयले बुधवार सार्वजनिक गरेको विवरण अनुसार काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ थलीमा रहेको भरत थापाको दुई तल्ले पक्की घर भाडामा लिएर नक्कली रक्सी उत्पादन हुने गरेको थियो।
उनीहरूले विभिन्न ब्रान्डका स्वदेशी तथा विदेशी रक्सीको सक्कली बोतलमा नक्कली रक्सी राखेर बिक्री गर्ने गरेका थिए।
उनीहरूले कुनै बोतलमा नक्कली अन्तःशुल्क स्टिकर त कुनैमा सक्कली स्टिकर टाँसेका थिए। सक्कली स्टिकर नेपालकै पार्टी प्यालेसबाट किन्ने गरे पनि नक्कली अन्तःशुल्क स्टिकर भारतबाट ल्याउने गरेको उनीहरूको बयानमा खुलेको छ।
उनीहरूले भारतबाट नक्कली स्टिकर किनेर ल्याउने दाबी गरे पनि भारतको कहाँबाट किनेर ल्याएको हो त्यो भने खुलाएका छैनन्।
आर्थिक ऐन २०८० अनुसार अन्तःशुल्क स्टिकरको मूल्य रक्सीमा अल्कोहलको मात्रा अनुसार निर्धारण हुन्छ। आर्थिक ऐन २०८० को ‘खण्ड ७३ अतिरित्ताङ्क १४ नेपाल राजपत्र भाग २ असार ३१ गते २०८०’ मा १५ युपि शक्तिको अथार्त ४८ दशमलव ५ प्रतिशत अल्कोहल भएको एक लिटरको बोतलको १ हजार ८ सय रुपैयाँ तिनुपर्छ।
अथार्त सजिलो गरी भन्दा एक लिटरको रक्सीमा ४८ दशमलव ५ प्रतिशत अल्कोहल छ भने १ हजार ८ सय अन्तःशुल्क तिर्नुपर्छ। विदेशी ब्रान्डका रक्सीलाई परल मूल्य र अन्तःशुल्क सहित जति मूल्य आउँछ त्यसको भन्सार शुल्क बुझाएर जति आउँछ त्यसको १३ प्रतिशत भ्याट पनि बुझाउनु पर्छ।
अन्तःशुल्क स्टिकरको शुल्क रक्सीमा जति मात्रामा अल्कोहल छ सोही अनुसार निर्धारण हुन्छ। अल्कोहलको मात्रा धेरै भए धेरै शुल्क, थोरै भए थोरै।
आन्तरिक राजश्व विभागका महानिर्देशक मैनालीले भने, ‘यो राजश्व छली हो त्यसैले राजश्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ।’
तीन अपराध तर मुद्दा कालोबजारी मात्रै
जिल्ला प्रहरी परिसर टेकुले पक्राउ परेकाहरूमाथि अहिले कालोबजारी ऐन अनुसार अनुसन्धान गरिरहेको खुल्यो। अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार अहिलेसम्म कालोबजारी ऐन अन्तर्गत अनुसन्धान भइरहेको छ।
सरकारी कागजातलाई दुरुपयोग गरेका उनीहरूमाथि सरकारी दस्तखत छाप किर्ते, अन्तर्राष्ट्रिय ब्रान्डका नक्कली रक्सी बेचेपछि राजश्व छली, गुणस्तरहीन सामान बेचेकाले नेपाल गुणस्तर ( प्रमाण चिन्ह) र कालोबजारी अन्तर्गत अनुसन्धान गर्न सकिने भए पनि कालोबजारी ऐनमा मात्रै टेकेर अनुसन्धान भइरहेको छ।
पक्राउ परेकामध्ये तीन जना पटके समेत हुन्। नीरज उप्रेती, धर्मी गौडेल र गणेशबहादुर राना मगरलाई पहिला पनि पक्राउ परेका थिए। उनीहरू २०७९ माघमा पक्राउ परेको प्रहरीमै रेकर्ड रहेको छ।
मनोज खत्री नक्कली रक्सी बनाएर विक्री गरेको आरोपमा तेस्रो पटक पक्राउ परेका हुन्। उनी पहिलो पटक पक्राउ परेर अदालतबाट ५० हजार धरौटीमा छुटेर पुन पुरानै धन्दामा लागेका थिए।
दोस्रो पटक उनको सहयोगी पक्राउ परे भने उनी फरारै रहे। प्रहरीले उनलाई तेस्रो पटकको छापामा पक्राउ गर्यो।
एक वर्ष अगाडि नै विनोद कार्की, भगवान् बस्नेत, गोपाल पुन मगर, हरि वली, मनोज खत्री, गौरव तामाङ र गोपीकृष्ण श्रेष्ठ समेत विदेशी ब्रान्डका सक्कली बोतलमा नक्कली मदिरा राखेर विक्री गरेको आरोपमा पक्राउ परेका थिए।
२०७९ भदौ १० मा जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली रक्सी उत्पादन गरेको आरोपमा कोटेश्वर र भक्तपुरबाट वली, बस्नेत, खत्री र श्रेष्ठलाई पक्राउ गरेको थियो।
थप अनुसन्धान गर्दा प्रहरी उनीहरूको गोदाम र कारखानामै पुग्यो। प्रहरीले उनीहरूको गोदामबाट ज्याक डेनियल, डबल ब्ल्याक, ब्ल्याक, सिग्नेचर रेड, ८८४८ भोड्का, सिग्नेचर ग्रिन, खुकुरी रम, गोल्डेन वाक, रुस्लान भोड्कालगायतका १६ भन्दा धेरै ब्रान्डका नक्कली रक्सी फेला पारेको थियो।
त्यतिबेला पनि प्रहरीले काठमाडौँ लगायतका स्थानमा रहेको लाउन्ज, पार्टी प्यालेस, दोहोरी साँझ र रेष्टुरेन्टहरुमा सस्तोमा दिने गरेको बताएको थियो।
प्रहरी अनुसन्धानमा उनीहरूले प्रति बोतल २ हजारसम्म सस्तोमा विक्री गर्दा स्टक क्लिएर गर्न सस्तोमा दिएको दाबी गर्ने गरेको देखिएको थियो। प्रहरीले उनीहरूले कुन कुन लाउन्ज र लोकदोहोरीहरूमा यस्तो रक्सी विक्री गरे भन्ने खुलाएको थिएन।
गहिरिएर अनुसन्धान नै हुँदैन
नक्कली रक्सी बजारमा छ्यापछ्यापी भइरहेको एक वर्ष भन्दा बढी भइसक्यो। सक्कली अन्तःशुल्क स्टिकर पनि यसैगरि दुरुपयोग भइरहेको छ। यसबारे सम्बन्धित निकाय गम्भीर भने देखिएन। खाद्य तथा गुण नियन्त्रक विभागका प्रवक्ता मोहन कृष्ण महर्जन यसबारे केही थाहा नभएको बताउँछन्।
‘हामीकोमा उजुरी आएको उद्योगमा हामीले गुणस्तर मापन गरेका छौँ,’उनले भने, ‘रक्सी फ्याक्ट्री हामीले खोज्दै हिँड्ने कुरा भएन। नक्कली रक्सीको बिगबिगीबारे हाम्रो विभागलाई थाहा भएन।’
खासमा गुण नियन्त्रक विभागको काम बजारमा विक्री हुने खाद्यवस्तु उजुरी परे मात्रै होइन आफैँ पनि जाँच गर्न सक्छन्। महर्जनलाई उकेराले यो त अलि गैरजिम्मेवार भएन र भन्ने प्रश्न गर्दा उनले भने, ‘रक्सीको लाइसेन्स हामीले दिने होइन। आन्तरिक राजश्व विभागले दिने हो। उतै बुझ्दा ठीक होला।’
नक्कली रक्सी बेचबिखन गरिरहेका उद्योग दर्ता भएकै होइनन्। जुन रूपमा प्रवक्ताले जवाफ दिए त्यसले नै खाद्यान्नको गुणस्तर जाँचको अवस्था कति दयनीय छ भन्ने देखाउँछ नै।
अन्तःशुल्क स्टिकर भनेको नोट जस्तै संवेदनशील हो। नक्कली स्टिकरको प्रयोग गर्नु नक्कली नोटको प्रयोग गर्नु बराबर हो। तर बारम्बार नक्कली स्टिकर र दोहोर्याएर प्रयोग गरिएको स्टिकर बजारमा फेला पर्दा समेत आन्तरिक राजश्व विभागका अधिकारी गम्भीर देखिएनन्।
नक्कली स्टिकर भारतबाट नेपालमा कसरी आइरहेको छ अनि दोहोर्याएर स्टिकर कसरी प्रयोग भइरहेको छ भन्ने पक्षतिर उनीहरूको चासो देखिए। उनीहरूको ध्यान केवल राजश्व छलीमा मात्र देखियो।
उकेराले मैनालीलाई बजारमा नक्कली अन्तःशुल्क स्टिकर र सक्कली स्टिकर दोहोर्याएर प्रयोग भएको देखिएको एक वर्ष भइसक्दा पनि किन गम्भीर अनुसन्धान भएन भनेर सोधेको थियो। जवाफमा मैनाली भने, ‘यस विषयमा हामी प्रहरीसँग समन्वय गर्छौ।’
सम्बन्धित समाचार
माघ ११, २०८० बिहीबार २१:२१:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।