निर्देशक चाम्स आफ्नै फिल्मको अभिनेता रितेशको अति प्रश‌सा , नेता र अन्य कलाकारमाथि आक्रोशको ओइरो

निर्देशक चाम्स आफ्नै फिल्मको अभिनेता रितेशको अति प्रश‌सा , नेता र अन्य कलाकारमाथि आक्रोशको ओइरो

काठमाडौं : फिल्म चल्नुभन्दा अगाडि नेपाली फिल्म मेकरले आफ्ना कलाकारको गुनगान गाउने पुरानै परम्परा हो। आफ्नो फिल्ममा फलानो कलाकार नभएको भए सायद कथाअनुसार फिल्म बन्न सक्दैन थियो भन्ने ठोकुवा समेत गर्न पछि पर्दैनन्।

बिहीबार निर्देशक तथा निर्माता मिलन चाम्सले फिल्मका अभिनेता रितेश चाम्सको त्यस्तै बयान गरे। उनी फिल्म ‘गोर्खा वारियर’मा नभएको भए फिल्म गतिलो नबन्ने भन्दै ठोकुवा गरे।

रितेशले जस्तो मेहनत अरू कलाकारले अहिलेसम्म गर्न नसकेको समेत दाबी गरे। पत्रकारले रितेशलाई नै फिल्ममा लिनुको कारण के हो भनेर गरेको प्रश्नको जवाफमा रितेश नभएको भए फिल्मको कथा अनुसार फिल्म बन्न नसक्ने दाबी गरे।

उनले भने, ‘मलाई लाग्छ रिेतेश चाम्स जतिको दुख गर्ने अर्को कलाकार छैन होला। वार जनराको मुभीमा एउटा सोल्जरको भूमिका एउटा मुमेन्टले ठ्याक्कै थाहा हुन्छ। अनि सोल्जर भन्ने बित्तिकै वेपन क्यारी गर्छ। पञ्ज र किकले कमरसियल मुभी बनाइन्छ अनि साउथ मुभी जस्तो खुट्टा बजार्दा हावाले भुईँमा भएभरका चिज उडाएर लाने खाल्को दृश्य भएको फिल्ममा वार जनराको भूमिका हुँदैन। दोस्रो कुरा, वेपन बोक्दा खेरि ठ्याक्कै थाहा हुन्छ- त्यो सोल्जर हो कि होइन भनेर। जुन ट्रेनिङ प्राप्तले मात्रै गर्न सक्छ।’

उनले चलिरहेका नायकहरूले फिल्ममा मेहनत नगर्ने अनि सुटिङका बेला पनि बाथरुम र सामाजिक सञ्जालमा रमाउने गरेको आरोप लगाए।

‘ट्रेनिङ गर्न हाम्रो नायकमा कतिको धैर्यता छ भन्ने मैले त अनुभव गरेको छु।’ उनले अरू कलाकारलाई आरोप लगाउँदै उनले भने, ‘वासरुममा जाँदा पनि त्यहीँनेर हराइदिने, सोसल मिडियामा नै हराउने खाल्का कतिपय कलाकारहरू पनि देखेको छु।’

उनले बेलायतका प्रधानमन्त्रीले आफ्नो फिल्मलाई शुभकामना दिँदा पनि नेपालको भने चलचित्र विकास बोर्डले समेत सहयोग नगरेको बताए।

उनले विदेशी नेता तथा उच्च तहका नेताले शुभकामना पठाउँदा नेपालका कसैले पनि चासो नदिएको र उनीहरूलाई यस्तो कुरामा बानी नै नभएको सम्म आरोप लगाए।

‘संसारले चिनेको राष्ट्र बेलायतको प्रधानमन्त्रीले एउटा शुभकामना सन्देश पठाउँदा खेरि नेपाली चलचित्रका लागि एकदमै हौसला मिलेको थियो’, उनले भने, ‘नेपालको कुरामा चाहिँ कस्तो हुँदो रहेछ भने कसैलाई हामीले सम्मान गरेर पत्र पठायौँ या निमन्त्रण दियौँ भने त्यसलाई गहिरो रुपमा लिने कल्चर नै छैन। दोस्रो कुरा, थाङ्क्यु भन्ने त छँदै नै छैन यहाँ। हुन त त्यो अपेक्षा पनि थिएन। तर, हामीसँग सम्बन्धित भएको चलचित्र विकास बोर्डबाट चाहिँ थियो। तर, त्यहाँबाट समेत आएन।’

निर्देशक चाम्सले फिल्म ‘गोर्खा वारियर’लाई गत भदौमा बेलायतको आइम्याक्स सिनेवल्र्डमा भएको रेड कार्पेट प्रिमियर गरेका थिए। जसमा बेलायतका उच्च पदस्थ व्यक्तिहरूलाई निम्तो दिइएको थियो। 

नेपालका प्रधानमन्त्री देखि चलचित्र विकास बोर्डलाई समेत निमन्त्रणा गरिएको थियो। तर, नेपालका तर्फबाट भने कोही पनि प्रिमियरमा उपस्थित भएनन्। यसको दुखेसो निर्देशक मिलनले बिहीबार पत्रकारसामु पोखेका हुन्।

सन् १९४९ मा ‘मलाया इमर्जेन्सी जंगलवार’मा नेपाली गोर्खाली सैनिकको साहसिक युद्ध कथालाई प्रस्तुत गरिएको फिल्म ‘गोर्खा वारियर’मा रितेश चाम्सका अलावा विजय लामा, रेविका गुरुङ, सारा राई, रियर राई, शिशिर वाङ्देल, कविता आले, सुरज तमु, सुमीन गुरुङ, भुवन सिंह राई लगायत कलाकारको अभिनय छ।

यो फिल्म फागुन ११ गते अल नेपाल रिलिज हुँदैछ।

निर्देशक मिलनका अनुसार यो फिल्म नेपाली, हिन्दी र अंग्रेजी भाषामा डब गरिएको छ।

११ माघ, २०८०, १८:३४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।