प्रधानमन्त्री कपमा एपीएफको जित, लुम्बिनी सात विकेटले हार्यो
काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका अन्तर्गत बिहीबारको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले लुम्बिनी प्रदेशलाई सात विकेटले हराएको छ।
लुम्बिनीले दिएको १३४ रनको लक्ष्य एपीएफले २२.३ ओभरमा तीन विकेटको क्षतिमा भेट्टायो।
उसका लागि कप्तान रोहित पौडेलले ५२ रनको अर्धशतकीय पारी खेले। पूर्ण विकले ३३ र अमर रौटेलाले ८ रन बनाएर अविजित रहँदा प्रज्वल शाही ५ रनमा आउट भए।
लुम्बिनीका मोहम्मद हुसेन, कृष्ण कार्की र इक्लाख अहमदले समान एक–एक विकेट लिए।
त्यसअघि भैरहवास्थित सिद्धार्थनगर रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनीले ४१ ओभरमा अलआउट हुँदै १३३ रन बनायो।
उसका लागि दिलसाद अलीले अविजित रहँदै सर्वाधिक ३९ रन बनाए। मृनाल गुरुङ ३४, विराट भण्डारी २३ र प्रज्वल थापाले ११ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।
एपीएफका रमेश कुर्मीले पाँच, भुवन कार्कीले तीन तथा रोहित पौडेल र मौसम ढकालले समान एक–एक विकेट लिए।
जितसँगै एपीएफ ६ खेलमा ६ अंकसहित तालिकाको छैटौं स्थानमा छ भने लुम्बिनी पाँच खेलमा २ अंकसहित पुच्छारबाट दोस्रो स्थानमा छ।
माघ ११, २०८० बिहीबार १४:१९:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।