राज्यका जिम्मेवार पदमा बसेका व्यक्तिले भीड वा सामाजिक सञ्जाल हेरेर धारणा बनाउनुहुन्न : प्रधानमन्त्री

राज्यका जिम्मेवार पदमा बसेका व्यक्तिले भीड वा सामाजिक सञ्जाल हेरेर धारणा बनाउनुहुन्न : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यका जिम्मेवार पदमा बसेका व्यक्तिहरूले भीड हेरेर वा सामाजिक सञ्जालका धारणा हेरेर निर्णय गर्न नहुने बताएका छन्।

आज प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वन्यायाधीश समाजका पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले विद्वानहरूले संविधान र कानूनको पूर्ण पालना गरेर त्यसका आधारमा मात्र निर्णय गर्नुपर्ने बताएका हुन्।

उनले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगका साथै सरोकारवाला सबैको दायित्व भएको बताए।

पूर्वन्यायाधीश समाजका अध्यक्ष टोपबहादुर शिंहसहितका पूर्व न्यायाधीशहरूसँगको छलफलमा उनले अहिले केही व्यक्ति समाजको हारमोनी बिगार्न र राम्रो कामलाई पनि नराम्रो भन्दै प्रचार गर्न लागिपरेको भन्दै संविधान र कानूनको पालना गर्न लगाउन पूर्व न्यायाधीशहरूको भूमिका समेत महत्वपूर्ण रहने बताए।

प्रधानमन्त्रीले पूर्व न्यायाधीशहरूले विगतमा संविधान र कानुनमाथि आक्रमण हुँदा आवाज उठाएको बताउँदै आगामी दिनमा पनि राज्यका विभिन्न अंग र निकायले गर्ने काममा संविधान र कानूनको पालना भए नभएकोबारे निरन्तर निगरानी गरिरहनु पर्ने औंल्याए।

११ माघ, २०८०, १२:४०:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।