नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको आरोपमा महिला पक्राउ, दुई बालिकाको उद्धार

नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको आरोपमा महिला पक्राउ, दुई बालिकाको उद्धार

काठमाडौं : नाबालिकाहरूलाई यौन क्रियाकलापमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले जडीबुटीबाट एकजना महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनकुटा छथर जोरपाटी गाउँपालिका-१ घर भई दोलखा भीमेश्वर नगरपालिका-९ बस्ने ३६ वर्षीय आशा लामा भन्ने लालमाया तामाङ छिन्।

प्रहरीले दुई जना बालिकाहरूको उद्धार समेत गरेको छ।

जडीबुटीस्थित टिमुरे क्याफे र चरिकोट गेष्ट हाउस सञ्चालन गरी उक्त क्याफे तथा गेष्ट हाउसहरूमा नाबालिकाहरूलाई ललाई फकाई उनले यौन क्रियाकलापमा लगाउँदै आएकी थिइन्। सूचना पाएपछि मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले लामालाई सोमबार नियन्त्रणमा लिएको हो।

आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढेलेखेका बालिकाहरूलाई क्याफे तथा गेष्ट हाउसमा वेटरको काम लगाइदिने तथा आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी बोलाउने गरेको, सुरूमा वेटरको काममा लगाउने र केही समयपछि ललाई फकाई प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले बताएको छ।

उनीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान सुरू गरिएको छ।

अनुसन्धान ब्यूरोले घटनामा संलग्न अन्य प्रतिवादीहरूको खोजी भइरहेको जनाएको छ।

माघ १०, २०८० बुधबार १२:५६:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।