बाइसधारामा ग्राउण्डवाटर रिचार्ज प्रणाली जडान

बाइसधारामा ग्राउण्डवाटर रिचार्ज प्रणाली जडान

काठमाडौं : काठमाडौं महानगरपालिका वडा नं १६ बालाजु पार्कमा ग्राउण्डवाटर रिचार्ज प्रणाली जडान गरिएको छ।

कोका-कोला बेभरेज नेपाल, सेन्टर फर इन्टिग्रेटेड अरबन डेभलपमेन्ट (सिआइयुडी) र वाटरएड नेपालले संयुक्त रूपमा जडान गरेको प्रणाली मंगलबार काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई हस्तान्तरण गरिएको छ।

सन् २०२३ को अक्टोबरमा औपचारिक रूपमा सुरु भएको उक्त परियोजना माघ ५ गते सम्पन्न भएको हो।

रिचार्ज प्रणालीमा २१ वटा फिल्टर चेम्बर, २१ वटा रिचार्ज इनार, दुई डिस्टिलिङ चेम्बर, ७५ फिटको रिचार्ज ट्रेन्च र सात बाँसको चेक ड्यामहरू रहेका छन्। उक्त परियोजना सिआइयुडीको प्राविधिक सहयोग र बोटलर्स नेपाल तराई लिमिटेडको आर्थिक सहयोगमा सम्पन्न भएको हो।

यस प्रणालीले वार्षिक ३० हजार किलो लिटर पानी रिचार्ज गरी यस क्षेत्रको जमिनमुनिको पानी (ग्राउण्ड वाटर) को मात्रा बढाउन मद्दत गर्ने अनुमान गरिएको छ।

यसले बालाजु पार्क क्षेत्रको पानीको मात्रालाई कायम राख्दै त्यहाँका ढुङ्गेधारा, प्रसिद्ध बाइस धारा र सामुदायिक इनारको स्रोतलाई पुनर्जीवित गर्ने अपेक्षा गरिएको महानगरले जनाएको छ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर डंगोलले भनिन्, ‘काठमाडौं जस्ता सहरका लागि कृत्रिम ग्राउण्डवाटर रिचार्ज अत्यावश्यक भएकाले आगामी दिनमा पनि यस्तै किसिमका रचनात्मक रिचार्ज पहलहरु कायम राख्छौँ।’

काठमाडौं जस्तो सहरमा ग्राउण्डवाटर रिचार्ज अत्यावश्यक भएको तर भवन र सडक निर्माणका कारण प्राकृतिक रिचार्ज जोनहरूमा पनि अहिले पानीको मात्रा घट्दै गएको उनले बताइन्।

१० माघ, २०८०, ०८:१८:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।