न्यूरोडको पिच रोडमा आजदेखि पार्किङ निषेध

न्यूरोडको पिच रोडमा आजदेखि पार्किङ निषेध

एजेन्सी : न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा आजदेखि पार्किङ गर्न निषेध गरिएको छ।

काठमाडौं महानगरपालिकाले आजदेखि सडकमा पार्किङ गर्ने अभ्यासमा रोक लगाउँदै सवारी आवागमनलाई सहज बनाउने प्रयास थालेको हो। पार्किङ निषेध गरिएका स्थानहरूमा ‘नो पार्किङ्ग’ का संकेत चिन्ह राखिएका छन्।

यसैगरी नगर प्रहरी खटाएर पार्किङ गर्न आउनेलाई आजबाट कालोपत्रे सडकमा पार्किङ गर्न नपाइने जानकारी गराइँदैछ। यस क्रममा आज विहान वीर अस्पताल अगाडिको सडक खण्डमा पार्किङ्ग गरिएका मोटरसाइकलहरू नगर प्रहरीको सवारी साधनको प्रयोग गरेर उठाइएको छ।

न्यूरोड जानुपर्ने सवारी धनीलाई काठमाडौं टावर (साविक पुरानो बसपार्क)मा निःशुल्क पार्किङकाे सुविधा उपलब्ध गराइएको महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए।

यस ठाउँमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिन्छ।

पार्किङ निषेध गरिएको ठाउँमा आज विहानै देखि विशेष सरसफाइसमेत गरिएको छ। महानगर प्रहरी बल र वातावरण व्यवस्थापन विभागबाट साधन, उपकरण तथा जनशक्ति परिचालन गरेर सरसफाइ गरिएको हो।

यसअघि धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, प्युखा, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा सवारी पार्किङ हुने गरेको थियो।

सडकमा पार्किङ गर्ने परम्परागत परिपाटीमा सुधार गर्ने क्रममा बागबजार, पुतलीसडक, दरबारमार्ग, झोँछेलगायत धेरै ठाउँमा पार्किङ्ग निषेध गरिसकिएको छ।

९ माघ, २०८०, ११:४२:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।