बेलायतको कार्यक्रमबारे बोर्ड अध्यक्ष केसीलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

बेलायतको कार्यक्रमबारे बोर्ड अध्यक्ष केसीलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

काठमाडौं : कलाकारसँग हजार युरो पैसा उठाएको आरोपित संस्था इन्टरनेशनल डेल्फिक काउन्सिल नेपालसँग मिलेर बेलायतमा गर्न लागिएको कार्यक्रमको बारेमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी स्पष्टीकरण सोधेको छ।

आइतबार मन्त्रालयले बोर्डका अध्यक्ष भुवन केसीलाई पत्र लेख्दै स्पष्टीकरण सोधेको हो।

सञ्चार मन्त्रालयका सहायक प्रवक्ता विशाल सापकोटाका अनुसार मन्त्रालयले कार्यक्रममा सहभागिताको विषयलाई लिएर बोर्डबाटै उजुरी परेपछि बोर्डको धारणाबारे स्पष्टीकरण सोधिएको हो।

पत्र पठाएको एक हप्ताभित्रमा बोर्डले स्पष्टीकरण दिइसक्नु पर्ने छ।

शुक्रबार ‘इन्टरनेशनल डेल्फिक काउन्सिल नेपाल शाखा’ले बेलायतमा आयोजना गर्न लागेको ‘नेपाली चलचित्रको ६ दशक, चुनौती र अन्तराष्ट्रिय बजारको खोजी’ को नाममा हजार डलर युरो उठाएको भन्दै चलचित्र विकास बोर्डका प्रवक्ता तथा सदस्य केएल बुढाथोकीले मन्त्रालयमा उजुरी दिएका थिए।

प्रवक्ता बुढाथोकीले लण्डनमा आयोजना हुन लागेको कार्यक्रममा इन्टरनेशनल डेल्फिक काउन्सिल नेपाल शाखाले एक हजार युरो उठाएको र बोर्डको समेत सहभागिता हुने हुँदा यसलाई रोक्नका लागि निर्देशनको माग गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दिएको उजुरीको आधारमा बोर्डलाई स्पष्टीकरण सोधिएको हो। बोर्ड प्रवक्ता बुढाथोकीले बोर्ड अध्यक्ष भुवन केसी र अन्य पदाधिकारीको सहभागिता रोक्न माग गरेका थिए।

यो उजुरीउपर मन्त्रालयले विकास बोर्डलाई आइतबार पत्र लेख्दै यसबारे भएको के हो खुलाएर जवाफ दिन भनेको छ।

यता, आयोजकले भने प्रवक्ता बुढाथोकीलाई आरोपलाई खण्डन गर्दै भिसा नलागेपछि उनले यस्तो आरोप लगाएको बताउँदै आएको छ।

८ माघ, २०८०, १८:५७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।