लेनदेन प्रमाण सार्वजनिक भएपछि रवि पुगे ग्लोबल बैंकको पानीपोखरी शाखामा, गोर्खा मिडियामा प्रहरीका पूर्व डिआइजी पनि

लेनदेन प्रमाण सार्वजनिक भएपछि रवि पुगे ग्लोबल बैंकको पानीपोखरी शाखामा, गोर्खा मिडियामा प्रहरीका पूर्व डिआइजी पनि

काठमाडौँ : ग्यालेक्सी टेलिभिजनको माउ संस्थाको शेयर होल्डर्स हुन सहकारीको रकम अपचलनमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू संलग्न नरहेको दाबी गर्दै आएकामा सेयर किनबेच बापत भएको आर्थिक कारोबारै सार्वजनिक भएपछि लामिछाने ग्लोबल आइएमइ बैंकको पानीपोखरी शाखामा गएका छन्।

कान्तिपुर दैनिकले ग्यालेक्सी फोरके को १५ प्रतिशत सेयर लिन सुप्रिम सहकारीबाट रकम लिएर गोर्खा मिडियाको खातामा राखेको र टेलिभिजन छाड्दा गोर्खा मिडियाबाट लामिछानेको खातामा एक करोड ८० लाख भुक्तानी लिएर प्रमाण सार्वजनिक गरेको हो।

उनी बैंकको आफ्नो स्टेटमेन्ट लिन पानीपोखरीमा रहेको शाखामा गएका हुन्। 'पत्रकार सम्मेलन गर्न ढिला भयो' भन्दै उनले सो बैंकमार्फत आफुले गरेको सबै कारोबारको स्टेटमेन्ट मागेको स्रोतले बतायो।

'उनी निकै आत्तिएका देखिन्छन्। पत्रकार सम्मेलन गर्न ढिला भइसक्यो भन्दै स्टेटमेन्ट मागिरहेका छन्' स्रोतले भन्यो।

निःशुल्क सेयर लिए पनि सेयर नाममा हुन दिने र लिनेबीच अनिवार्य रूपमा नगद कारोबार भएको प्रमाण कम्पनी रजिस्टारको कार्यालयमा पेस गर्नुपर्छ। सो नियम अनुसार रविले प्रारम्भमा गोर्खा मिडियाको शेयर किनेको विवरण कम्पनी रजिस्टारको कार्यालयमा पेस गर्न सुप्रिम सहकारीबाट लिएर रकम जम्मा गरेको देखिन्छ।

कान्तिपुरले सार्वजनिक गरेको प्रमाण अनुसार ‘कम्पनी रजिस्ट्रार कार्यालयमा गोर्खा मिडियाले बुझाएको फाइलअनुसार २०७७ माघ ९ शुक्रवार लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा ७५ लाख रूपैयाँ जम्मा गरेको र सुप्रिम बचत तथा ऋण सहकारीबाट २०७८ वैशाख ५ मा एक करोड निकालेर लामिछानेका तर्फबाट गोर्खा मिडियाको खातामा जम्मा गरिएको’ देखिन्छ।

यसले गोर्खा मिडियाको १५ प्रतिशत शेयर किन्न उनले व्यक्तिगत रकम जम्मा नगरी सुप्रिम सहकारीमा रहेको बचतकर्ताहरूको रकम दुरुपयोग गरेको देखिन्छ। सहकारीको बचतकर्ताको रकम टेलिभिजनको शेयर किन्न लगानी गरेपछि उनले सो रकम व्यक्तिगत रूपमा सहकारीमा फिर्ता गरेको खुलेको छैन।

जीवी राई निकटका अनुसार प्रारम्भमा टेलिभिजन खोल्दा नै तीन वर्षको खर्च जीवीले धान्ने र दुई वर्ष रविले धान्ने सर्तसहित पाँच वर्ष कुनै पनि व्यक्ति टेलिभिजनबाट नबाहिरिने मौखिक सहमतिमा टेलिभिजन खुलेको थियो।

टेलिभिजन सञ्चालनमा आउनु अगाडि नै सबैभन्दा उत्कृष्ट टेलिभिजन बनाउने भन्दै तयारीमै एक अर्ब हाराहारी खर्च भयो। सर्त नाघेर रवि पाँच वर्ष अवधि अगाडि नै राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर राजनीतिमा जाँदा उनले गोर्खा मिडियामा रहेको आफ्नो १५ प्रतिशत शेयर गितेन्द्र बाबु(जीवी) राईलाई विक्री गरे।

सेयर विक्री गर्दा पनि विक्री भएको सेयरको बैङ्कमार्फत कारोबार भएको प्रमाण कम्पनी रजिस्टारको कार्यालयमा पेस गर्नुपर्छ। सो प्रावधान अनुसार प्राइम कमर्सियल बैङ्कमा जीवी राईका नाममा रहेको खाताबाट ग्लोबल बैङ्कमा रहेको रवि लामिछानेको खातामा १ करोड ८० लाख ट्रान्सफर भएको कान्तिपुरले सार्वजनिक गरेको प्रमाणमा देखिन्छ। 

गोर्खा मिडियाको ३५ प्रतिशत शेयर लिएका छविलाल जोशी नेपाल प्रहरीका पूर्वडीआईजी हुन्। उनी जीवीको नेचर हर्ब्स इन्टरनेसनल प्रालिमा समेत संलग्न थिए। नेचर हर्ब्स नेटवर्किङ शैलीमा कारोबार गर्ने विवादित कम्पनी हो। जोशीले पछि गोर्खा मिडियाको शेयर विक्री गरेर बाहिरिएको देखिन्छ। तर नेचर हर्ब्स्मा उनी संलग्न छन् या बाहिरिए खुलेको छैन।

रवि राजनीतिमा आएपछि पनि जीवी र जोशीसँग नजिक थिए। उनी उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएपछि जीवी अर्का कुमार रम्तेलसहित शुभकामना दिन गएका थिए। छविलाल पनि मन्त्रालयमै पुगेर रविलाई शुभकामना दिएका थिए।

माघ ८, २०८० सोमबार १३:३८:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।