छोराको हत्या आरोपीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि राजबहादुरका बुवा भन्छन्- ‘बल्ल आश जाग्यो’

छोराको हत्या आरोपीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि राजबहादुरका बुवा भन्छन्- ‘बल्ल आश जाग्यो’

सुर्खेत : १४ वर्षअघि भएको राजबहादुर मल्ल हत्या प्रकरणमा आरोपीहरूविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेसँगै पीडित परिवारमा न्यायको आशा पलाएको छ।

आरोपीहरू राजनीतिक शक्तिको आडमा पक्राउ पर्न नसकेको भए पनि गत शुक्रबार जिल्ला अदालत सुर्खेतले पक्राउ गर्न अनुमति दिएपछि पीडित परिवारमा आशा पलाएको हो।

मृतकका बुवा नन्दबहादुर छोराका हत्याराहरू माओवादीका छैटौं डिभिजनभित्रका कार्यकर्ताहरू भएकाले आजसम्म खुलेआम हिँडिरहेको बताउँछन्।

‘१५ वर्षसम्म छोराका हत्याराहरू खुलेआम हिँडिरहेका छन्। हत्या गरेर माओवादीको तत्कालीन छैटौँ डिभिजनभित्र यी कार्यकर्ताहरू लुकेका थिए,’ अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनले भने, ‘उनीहरू सत्ता र शक्तिकै आडमा पक्राउ परेका छैनन्। अब छोराले न्याय पाउँछ की भन्ने आश जागेको छ।’

उसो त प्रहरीले यसअघि जिल्ला अदालत सुर्खेतबाट २०७९ साउन १३ गते पक्राउ गर्ने अनुमति लिएको थियो।

२०६५ फागुन २६ गते कालिकोटका १७ वर्षीय राजबहादुर मल्ल हत्या प्रकरणमा ६ जना आरोपितलाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले अनुमति दियो।

१४ वर्षअघिको उक्त हत्या प्रकरणमा संलग्न रहेको आरोप लागेका ६ जनालाई आरोपित कालिकोटको महावै गाउँपालिकामा स्थायी ठेगाना भएकी अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, सोही ठाउँका ‘टाइगर’ भनिने पदमबहादुर रावत, ‘गुराँस’ भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ।

गत शुक्रबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले जिल्ला अदालतमा पक्राउको अनुमति मागेको आधारमा अदालतले सोही दिन नै अनुमति दिएको हो।

घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी निरीक्षक कृष्ण खड्कालाई अनुसन्धान अधिकारी तोकेको छ। खड्काले अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको भन्दै छिट्टै त्यसको निष्कर्षमा पुग्ने बताए।

प्रहरीले हालसम्म ३१ जनालाई अनुसन्धान अधिकृत तोकिसकेको थियो।

हत्या लगत्तै फागुन २७ गते मृतक राजबहादुरका काका नवराज मल्लले पहिलो जाहेरी दिएका थिए। उक्त जाहेरीमा ‘टाइगर’ भनिने पदमबहादुर रावतले राजबहादुरमाथि खुकुरी प्रहार गरेको उल्लेख छ।

२०७९ साउन १३ गते मृतकका बुवा नन्दबहादुरले छोराको हत्यामा उल्लेखित ६ जनासहित नाम, ठेगाना नखुलेका दैलेखका दुई जना संलग्न रहेको भन्दै पूरक जाहेरी दिएका थिए।

नन्दबहादुरले प्रहरीमा दिएको जाहेरी अनुसार अध्यक्ष सिंहसहित ४५ जना माओवादी कार्यकर्ताहरूले भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर सुर्खेत क्याम्पसमा भर्ना भएको विषयमा मृत राजबहादुरले विरोध गरेका थिए। सोही अनुसार उनीहरूको भर्ना रद्द भएपछि हत्या भएको उल्लेख गरिएको छ।

बुवा नन्दबहादुर र आमा गोरीकलाका पाँच सन्तानमध्ये राजबहादुर साइँला छोरा हुन्। उनी उच्च शिक्षा अध्ययन गर्न सुर्खेत झरेका थिए। उनी विद्यार्थी राजनीतिमा पनि सक्रिय थिए।

८ माघ, २०८०, १२:४७:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।