रूस-युक्रेन युद्ध भएकाले नेपालले भन्नेबित्तिकै रूसले मानिहाल्दैन, जागिर खान जहाँ पायो त्यहीँ नजाऔँ : प्रधानमन्त्री

रूस-युक्रेन युद्ध भएकाले नेपालले भन्नेबित्तिकै रूसले मानिहाल्दैन, जागिर खान जहाँ पायो त्यहीँ नजाऔँ : प्रधानमन्त्री

 

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा सम्झौता भएका भारत र बेलायत बाहेक अन्य कतै पनि नेपालीलाई सेनामा भर्ती गर्न दिने प्रावधान नरहेको भन्दै जागिरका लागि त्यसलाई उल्लंघन नगर्न आग्रह गरेका छन्।

युगान्डाबाट स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले रूस र युक्रेनको सेनामा नेपालीहरू भर्ती भएको भन्दै जागिर खाने नाममा जहाँ पायो त्यहीँ नजान आग्रह गरेका हुन्।

उनले रूसी सेनामा लागेका र त्यहाँ अलपत्र परेका नेपालीलाई तत्काल फर्काउनका लागि रूस तयार नभएको पनि प्रष्ट पारे।

‘रुस वा युक्रेनमा त्यहाँको लडाईंमा नेपालीहरू रुसी सेनामा भर्ती भएको वा अन्यत्र भर्ती भएको भन्ने बारेमा सरकार निकै गम्भीर र संवेदनशील छ,’ उनले भने, ‘सरकारको तर्फबाट हाम्रो यस्तो नीति छैन। जोसँग सम्झौता भएका विगतका भारत र बेलायतबाहेक अन्यत्र कतै पनि नेपाली युवाहरूलाई कहीँ पनि सेनामा भर्ती गर्ने नीति छैन। रुसलाई नोट पठाइएको छ।’

युगान्डा भ्रमणका क्रममा नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद र रूसी विदेश सहायकमन्त्री सर्गेई वर्सिनिन बीचमा भेटवार्तामा नेपाली युवाहरू सेनामा भर्ती नगर्न र मृतकको क्षतिपूर्तिसहित शव फकाई दिन रूसलाई आग्रह गरिएको थियो।

‘अहिले पनि रुसका उपविदेशमन्त्री सँग भेटेरै कुरा गर्नुभएको छ। तपाईँले फिर्ता पठाइदिनु पर्छ भनेका छौँ। मारिएका बारेमा पनि कुरा भएको छ, क्षतिपूर्ति लगायतमा। सरकारले गम्भीर रुपमा लिएन भन्ने कुरा सही होइन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सबैले जनतामा चेतना फैल्याउन पर्छ। जागिर खाने नाममा जहाँ पायो त्यहीँ नेपालको राज्यको नीति विपरीत, संविधानको मर्म विपरीत, हाम्रो लोकतान्त्रिक राष्ट्रिय स्वाधीनताको भावना विपरीत जहाँ पनि सेनामा भर्ती हुने, जहाँ पनि जाने, बाटो छलेर जाने तरिका भएन।’

७ माघ, २०८०, ११:५४:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।