प्रधानमन्त्री प्रचण्डले आज नामको शिखर सम्मेलनलाई सम्बोधन गर्दै

प्रधानमन्त्री प्रचण्डले आज नामको शिखर सम्मेलनलाई सम्बोधन गर्दै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार असंलग्न आन्दोलन (नाम)को १९औं शिखर सम्मेलनमा सम्बोधन गर्दैछन्।

पूर्वनिर्धारित कार्यक्रम अनुसार नै प्रधानमन्त्री दाहालले सम्मेलनको पहिलो दिन नै सम्बोधन गर्न लागेका हुन्।

‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलन युगाण्डाको राजधानी कम्पालामा शनिबारसम्म चल्नेछ। 

सम्बोधनपछि प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलले त्यहाँका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछन्।

शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्रीले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्चपदस्थहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

सम्मेलनमा सहभागी हुन बुधबार राति युगाण्डा प्रस्थान गरेका प्रधानमन्त्री आइतबार बिहान काठमाडौं आइपुग्ने कार्यक्रम छ।

बिहीबार साँझ उनले त्यहाँस्थित नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए।

उनले युगान्डामा पनि नेपाली भेट्न पाउँदा खुसी लागेको बताउँदै भिजिट भिसाका बारेमा केही महत्त्वपूर्ण निर्णय गरिएको र केही समयअघि आप्रवासन समस्या समाधानका निम्ति सबै राजदूतहरू बोलाएर कुरा गरिएको जानकारी दिएका थिए।

५ माघ, २०८०, ०७:५१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।