१९ वर्षीया छोरीको बलात्कार र २१ वर्षीय छोराको हत्या आरोपित बुवा पक्राउ

१९ वर्षीया छोरीको बलात्कार र २१ वर्षीय छोराको हत्या आरोपित बुवा पक्राउ

सुर्खेत : सुर्खेतमा १९ वर्षीया छोरीलाई बलात्कारपछि २१ वर्षीय छोराको हत्या गरेको आरोप लागेका बावु पक्राउ परेका छन्।

उनलाई प्रहरीले कैलालीको टीकापुरबाट बिहीबार बिहान पक्राउ गरेको हो। टीकापुर प्रहरी कार्यालयमा राखिएका उनलाई केहीबेरमा सुर्खेत ल्याउने तयारी गरिएको जिल्ला प्रहरी कायर्कालय सुर्खेतका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए।

गत सोमबार राति सुर्खेतमा आफ्नै छोरालाई बन्चरोले हानेर मारेर फरार भएका आरोपी बाबुविरुद्ध बुधबार मृतकका काकाले जाहेरी दिएका थिए।

गत असोज २७ गते १९ वर्षीय छोरीलाई बलात्कार गरेको भन्दै कात्तिक १५ गते प्रहरीमा जाहेरी परेको थियो। जाहेरी परे लगत्तै फरार भएका आरोपित भारतमा लुकेर बसेका थिए।

भारतमा काम गर्ने बाबु नेपाल फर्किएर छोरीलाई भेट्न बोलाएर बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेपछि कान्छी श्रीमती लिएर उनी भारत भागेका थिए।

बहिनीको बलात्कार गर्ने बाबुविरुद्ध प्रहरीमा जाहेरी दिएका युवक मारिए। अनुसन्धानमा उनकै बाबु भारतबाट आएर हत्यापछि भागेको देखिएपछि मृतकका काकाले प्रहरीमा बुधबार जाहेरी दिएका थिए।

यस घटनाको अनुसन्धान गर्न संघीय प्रहरी कार्यालय नेपालगञ्जबाट प्रहरी निरीक्षक बुद्धि सुवेदी, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ नायव निरीक्षक नारायण शर्मा, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी हवलदार टीकाराम आचार्य, जवान टेकराज पराजुली, नवीन योगी र इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरीक्षकसहितको संयुक्त टोली खटिएको थियो।

सम्बन्धित समाचार:-

४ माघ, २०८०, ११:५२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।