डबल ब्ल्याक, सिवास र खुकुरी रमको सक्कली बोतलमा नक्कली रक्सी, थलीमा फेला पर्‍यो नक्कली रक्सी बनाउने कारखाना

डबल ब्ल्याक, सिवास र खुकुरी रमको सक्कली बोतलमा नक्कली रक्सी, थलीमा फेला पर्‍यो नक्कली रक्सी बनाउने कारखाना

काठमाडौँ : मदिरा आफैँमा स्वास्थ्यका लागि हानिकारक अझ त्यसमा नक्कली पर्यो भने ज्यानकै जोखिम हुने भइहाल्यो। मदिरा उपभोक्ताहरूको ज्यानै जोखिममा पार्दै नक्कली मदिरा उत्पादनमा संलग्न यस्तै एक गिरोहलाई प्रहरीले समातेको छ जो नयाँ नभएर पटके हुन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधवार नक्कली रक्सी बनाउन संलग्न रहेको आरोपमा नौ जना पक्राउ गरेर सार्वजनिक गर्यो। नौ जनामध्ये मुख्य तीन जना पटके हुन्।

प्रहरीले पक्राउ गरेको मनोज खत्री नक्कली रक्सी बनाएर विक्री गरेको आरोपमा तेस्रो पटक परेका हुन्। उनी पहिलो पटक पक्राउ परेर अदालतबाट ५० हजार धरौटीमा छुटेर पुन पुरानै धन्दामा लागे। दोस्रो पटक सहयोगी पक्राउ परे। उनी फरारै रहन सफल भए। प्रहरीले उनलाई तेस्रो पटकमा पक्राउ गर्यो।

अर्को छन् विनोदकुमार कार्की। प्रहरीले यो समूहलाई बुधवारसम्म गरी तीन पटक पक्राउ गरिसक्यो। उनी तीनै पटक जोगिँदै आएका थिए। गौरव तामाङ पक्राउ परेको यो  दोस्रो पटक हो। प्रहरीले मनोज खत्री, मनिष खत्री, मोहन खड्का लेखविक्रम थापा, सुमन नगरकोटी र रोशन कार्कीलाई पक्राउ गरेको छ।

उनीहरूमाथि सरकारी दस्तखत छाप किर्ते, नक्कली अन्तःशुल्क र कालोबजारीमा अनुसन्धान गरिने अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले बताए।

नक्कली रक्सीको केन्द्र थली

कार्यालयले बुधवार सार्वजनिक गरेको विवरण अनुसार काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ थलीमा रहेको भरत थापाको दुइतल्ले पक्की घर विनोदले भाडामा लिएका थिए।

उनले भाडामा लिएको घरमा छापा मार्दा प्रहरीले खुकुरी रम, गोल्डेन वक, फाइटर सिग्नेचर, ३६५ ब्ल्याक, सगुन ब्रान्डको मदिरा पदार्थ, डबल ब्ल्याक, ब्ल्याक लगायतका अन्तर्राष्ट्रिय मदिराका बोतलहरू फेला पारेको थियो।

प्रहरीले उनीहरूको कोठामा चिनी-पानी मिश्रित तरल पदार्थ, विभिन्न रक्सीहरूको खाली बोतल, राजश्व अन्त शुल्कको स्टिकर, लेवलिङ एवं प्याकेजिङ गर्न प्रयोग गरिने सामान समेत फेला पारेको थियो।

पक्राउ आरोपीहरु।अनुसन्धानमा उनीहरूले सगुन ब्रान्डको मदिरा किनेर त्यसलाई महँगो अन्य मदिराको बोतलमा हाल्ने गरेको खुल्यो। उनीहरूले कालो रंगको ह्विस्की बनाउन चिनी पगालेर कालो बनाउने र सक्कली मदिरामा सस्तो नक्कली मदिरा मिसाएर त्यसमा चीनीको कालो झोल मिसाएर बाक्लो बनाउने गरेको खुलेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले यही समूहलाई २०७९ माघमा समेत पक्राउ गरेको थियो। त्यो बेला पक्राउ पर्दा उनीहरूले बजारमा जुन ब्रान्डको माग हुन्छ त्यसैको नक्कली रक्सी बनाएर सस्तोमा विक्री गर्ने गरेको खुलेको थियो। अझ विशेष महँगो अन्तर्राष्ट्रिय ब्रान्डका नक्कली रक्सी बनाएर विशेष गरी दोहोरी अनि लाउन्जहरुमा सस्तोमा विक्री गर्ने र पार्टी प्यालेसहरूमा मिलेर सक्कली भन्दै ठुलो मात्रामा नक्कली रक्सी विक्री गर्ने खुलेको थियो।

पहिला उनीहरूले ललितपुरको महालक्ष्मीथानको टिकाथलीमा कोठामा भाडामा लिएर नक्कली रक्सीको कारखाना नै चलाएको खुलेको थियो। त्यता पोल खुलेपछि उनीहरू थली सरेको देखियो।

प्रहरीले त्यो बेलामा नीरज उप्रेती, धर्मी गौडेल र गणेशबहादुर राना मगरलाई पक्राउ गरेको थियो। उप्रेती ललितपुरको कुपण्डोलस्थित ‘द टेस्ट लिक्वायर स्टोर’का सञ्चालक थिए। गौडेलले काठमाडौँको मित्रनगरस्थित ‘एसटी लिक्वायर स्टोर’ सञ्चालन गर्दै सक्कली भनेर नक्कली रक्सी विक्री गर्ने गरेकी थिइन्। 

विनोद कार्की, भगवान् बस्नेत, गोपाल पुन मगर, हरि वली, मनोज खत्री, गौरव तामाङ र गोपीकृष्ण श्रेष्ठ विदेशी ब्रान्डका सक्कली बोतलमा नक्कली मदिरा राखेर विक्री गरेको आरोपमा पक्राउ परेका थिए।

माघ ३, २०८० बुधबार १७:१५:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।