पृथ्वीनारायण शाहलाई कीर्तिपुरमा रोक्ने कीर्तिलक्ष्मी वास्तविक कि काल्पनिक ?
काठमाडौँ : ‘गोर्खालीले कीर्तिपुर जितिसकेपछि त्यहीँकी एक महिलाले गोर्खाली फौजलाई लुकी-लुकी वाण वा अन्य हतियार प्रहार गरिन्।’
यो भनाइ पढेपछि लेखक एवं इतिहासकार बासु पासाले ती अनाम महिलाको नाम राखे कीर्तिलक्ष्मी। उनले कीर्तिलक्ष्मीलाई केन्द्रविन्दुमा राखेर ऐतिहासिक उपन्यास पनि लेखे। नेपाली भाषामा ‘भैरव सिंह’ र सोही किताबलाई उनले नेवारीमा नाम राखे ‘कीर्तिलक्ष्मी’।
इतिहासकार पासाले कीर्तिलक्ष्मीबारे लेखेपछि उनी को थिइन् भन्ने बहस सुरु भयो। तर इतिहासकारहरूले आजसम्म उनीबारे कुनै तथ्य फेला पार्न सेकका छैनन्।
काल्पनिक पात्र कीर्तिलक्ष्मी
गोरखालीले कीर्तिपुरमा वि.सं. १८२२ मा विजय हासिल गरे। वि.सं.१८१४, वि.सं. १८२१ र वि.सं. १८२२ गरी तीन पटकको आक्रमणमा गोर्खालीले कीर्तिपुरमाथि विजय हासिल गरेका थिए।
कीर्तिपुर अहिले काठमाडौँ जिल्लामा परे पनि त्यतिबेला ललितपुर जिल्लामा पर्थ्यो। गोर्खालीलाई कीर्तिपुरमा रोक्ने को थियो? कीर्तिपुरको पक्षबाट गोर्खालीसँग कसले लडाइँ गरेको थियो त? यसबारे ऐतिहासिक तथ्य भेटाउन गाह्रो पर्छ।
अहिले धेरैले कीर्तिलक्ष्मी नामकी युवती/राजकुमारीले गोर्खाली फौजसँग लडाइँ गरेको मान्छन्। काल्पनिक नाम कीर्तिलक्ष्मी राखेर लडाइँ गरेको भनी बासु पासाले आफ्नो उपन्यासमा लेखे पनि।
निर्देशक प्रदीप खड्गीले ‘कीर्तिपुर दि लिजेन्ड अफ कीर्तिलक्ष्मी’ नामको फिल्म पनि बनाए। यो फिल्म बनेपछि पुन बहस सतहमा आयो- कीर्तिलक्ष्मी को थिइन् त?
निर्देशक खड्गीले लेखक एवं इतिहासकार पासाको पुस्तक भैरव सिंह, कीर्तिलक्ष्मी पला छघा, प्याखं मुना, कीर्तिपुर, कीर्तिपुरको सांस्कृतिक र पुरातात्त्विक इतिहासलाई आधार बनाएर फिल्म बनाए।
खड्गी फिल्ममा ९० प्रतिशत कुरा सही राखिएको दाबी गर्छन्। ‘कीर्तिपुर दि लिजेण्ड अफ कीर्तिलक्ष्मी फिल्ममा मैले २०६९ सालदेखि काम गरेको थिएँ,’ उनले भने, ‘खोज्दै जाँदा कीर्तिलक्ष्मीले गोर्खालीसँग लडाइँ गरेको पाइयो। प्रमाण हामीसँग छैन। तर यसबारे लेखक इतिहासकार बासु पासाले लेख्नुभएको छ।’
खड्गी फिल्म बनाउँदा धेरै इतिहासकारसँग कुराकानी गरेको दाबी गर्छन्। कीर्तिलक्ष्मी पुस्तक कसरी निस्कियो त? बासु पासाका छोरा प्रणय पासा भन्छन्, ‘यो ऐतिहासिक उपन्यास हो। ‘गोरखालीसँग लडाइँ भएकै हो। कीर्तिपुरेले हारेकै हुन्। तिथि–मिति सबै सही छन्। तर कीर्तिलक्ष्मी भन्ने पात्र थिइन् कि थिइनन्, त्यो भने खोजीकै विषय हो। अहिलेसम्मको दस्ताबेजले उनी थिइन् भन्ने भेटिँदैन।’
प्रणय आफैँ पनि लेखक हुन्। उनले ‘लुकेको नेपाल’ लगायतका १० वटा पुस्तक इतिहासमा आधारित भएर लेखेका छन्। प्रणय बुबा बासु पासालाई आफूले भैरव सिंह पुस्तक नलेख्न आग्रह गरेको बताउँछन्। मल्लकालीन राजाहरूको इतिहास लेखेका बासु पासाले एक लाइनलाई आधार बनाएर ऐतिहासिक उपन्यास लेख्दा अन्य पुस्तक ओझेलमा पर्ने उनको भनाइ थियो। तर उनका बुबा बासुले उपन्यास लेखे।
कीर्तिपुरेले यसैलाई आधार बनाएर कीर्तिलक्ष्मीले नै युद्ध गरेको दाबी गर्ने गरेको प्रणयको भनाइ छ। ‘खास यो ऐतिहासिक उपन्यास हो। मैले बुबालाई नलेख्नु पनि भनेको थिएँ। खास उनी थिइन् भन्ने कुनै आधार नै छैन,’ उनले भने, ‘काल्पनिक पात्रलाई थिइन् भनेर दाबी गर्नुको कुनै अर्थ छैन।’
कीर्तिपुरेले सुनाउँछन् कथा
निर्देशक खड्गी भने कीर्तिलक्ष्मी राजकुमारी थिइन् कि युवती थिइन् भन्ने चाहिँ विवादको विषय भएको बताउँछन्। ‘कीर्तिलक्ष्मी भन्ने पात्रले गोरखालीसँग पुरुषको भेष धारण गरेर लडेकै हो। तर उनी राजकुमारी थिइन् कि थिइनन् भन्ने चाहिँ मूल बहसको विषय हुनुपर्ने हो। यहाँ त हार्नेको इतिहास मेटे जसरी नै कीर्तिलक्ष्मीको इतिहास नामेट पार्न खोजिँदैछ।’
कीर्तिपुर ललितपुरको उपनिवेश भएको, त्यहाँका डबलीले राजा भएको जनाउने लगायतका प्रमाण रहेको बताउँछन् निर्देशक खड्गी। कीर्तिपुरेका बासिन्दाले कीर्तिलक्ष्मीबारे अझै पनि कथा भन्ने बताउँछन् उनी। ‘केही न केही भएर त कथा आयो होला। राजा-महाराजाहरुले इतिहास लेखाए, हार्नेको इतिहास लेखिएन, नष्ट गरियो दस्ताबेजहरू। कीर्तिपुरका बासिन्दाले घरघरमा कीर्तिलक्ष्मीबारे कथा सुनेका छन्।’
कीर्तिपुरकै इतिहासकार एवं अन्वेषक वसन्त महर्जन भने कीर्तिलक्ष्मी काल्पनिक पात्र भएको दाबी गर्छन्। ‘कीर्तिलक्ष्मीको कुनै ऐतिहासिक पाटो अहिलेसम्म भेटिएको छैन। काल्पनिक पात्र हुन् उनी। कीर्तिपुरेको किंवदन्ती हो यो कथा,’ उनले भने, ‘हुँदै नभएको कुरालाई इतिहास बनाउन खोजिँदैछ अझ सालिक नै बनाउने भनेर कुरा पनि भएको पो थियो।’
कीर्तिलक्ष्मीको सालिक बनाउने कुरा के भयो?
बागमती प्रदेशमा कीर्तिपुरबाट प्रदेश सभा सांसद छन् पुकार महर्जन। २०७६/०७७ को आर्थिक वर्षमा सांसद विकास कोषको १५ लाख रुपैयाँ छुट्याए, कीर्तिलक्ष्मीबारे बासु पासाको उपन्यास पढेका महर्जनले। सो पैसा उनले कीर्तिलक्ष्मीको सालिक बनाउन छुट्याएका थिए।
कीर्तिपुरबासीले यो विषयमा छलफल गरे। महर्जनका अनुसार छलफलमा तीन मत देखियो। एकथरीले कीर्तिलक्ष्मी थिइन् भने, अर्काले थिइनन् भने, अर्काथरीले कीर्तिलक्ष्मी नभए पनि कीर्तिपुरको पहिचान र पर्यटकीय दृष्टिकोणले उनको सालिक बनाउनुपर्ने भनाइ राखे।
विवाद बढ्दै गएपछि सालिक बनेन। यो बजेट फ्रिज भयो। ‘पात्रै नभएको भनेपछि उनीबारे सालिक बनाउन भएन, नबनाउने भइयो,’ उनले भने, ‘यदि उनी थिइन् भनेर इतिहासकारहरूले भन्छन् भने म सालिक बनाउन रकम विनियोजन गर्नेछु।’
को थिइन् त कीर्तिलक्ष्मी?
इतिहासकार महेशराज पन्त कीर्तिलक्ष्मी भन्ने पात्र नै नभएको बताउँछन्। ‘लेखक बासु पासा त्यहाँका ज्यापु समाजका हुन्। उनी अभियन्ता समेत हुन्। उनको कीर्तिपुर भन्ने किताब प्रकाशित छ। केही लेखकले कीर्तिपुर अलग राज्य थियो भनेर सिद्ध गर्न मरिमेटेर लागेको देखिन्छ' उनले भने।
त्यतिबेला ज्ञान प्रजा भन्ने राजा थिए भनेर समेत उल्लेख भएको पाइन्छ। जिजेपीले जयप्रकाशको नाउँ ठिकसँग उच्चारण गर्न नसकेर Gainprejas भनेर लेखेको पन्त बताउँछन्।
'जिजेपी इटालियन नागरिक उपत्यकामा आएका थिए। उनी पादरी हुन्। उनले आफ्नो अनुभव र बयान छापे। उनी आउँदा काठमाडौँका राजा जयप्रकाश मल्ल थिए। त्यसैलाई समातेर बासु पासाले कीर्तिपुर राज्य हो भनी चार वटा राज्य थियो भनेर समेत लेखे। जुन प्रामाणिक छैन' उनले भने।
इतिहासकार दिनेशराज पन्त पनि कीर्तिलक्ष्मी भन्ने पात्रबारे कुनै अभिलेखमा आजसम्म नपढेको बताउँछन्। ‘मैले अहिलेसम्म उनीबारे पढेको छैन। मैले नपढेको पनि हुनसक्छ तर जति दस्ताबेज केलाइयो उनीबारे कहीँ उल्लेख छैन।’
पन्त नालापानीमा जस्तै महिला तथा बालबालिका युद्धमा सहभागी भएको हुनसक्ने तर कोही महिलाले नेतृत्व नै लिएको थियो भनेर दाबी गर्न कुनै प्रस्ट आधार भने फेला पार्न नसकिने बताउँछन्।
*२०७८ पुस २७ मा प्रकाशित सामाग्री पुन प्रकाशित गरिएको हो।
पुष २७, २०८० शुक्रबार १३:२१:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।