रवि लामिछानेले भने- चुनावमा हारेकालाई राष्ट्रियसभा उमेदवार बनाउनु गणतन्त्रमाथिको प्रहार हो

रवि लामिछानेले भने- चुनावमा हारेकालाई राष्ट्रियसभा उमेदवार बनाउनु गणतन्त्रमाथिको प्रहार हो
फाइल फोटो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुनावमा हारेकाहरूलाई राजनीतिक दलहरूले राष्ट्रियसभामा उम्मेदवार बनाउनु गणतन्त्र माथिको प्रहार भएको बताएका छन्।

प्रतिनिधिसभा निर्वाचनमा हारेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला लगायतलाई राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार बनाउने कुराले गणतान्त्रिक व्यवस्थामाथि नै ठूलो ढुंगा प्रहार भएको जिकिर गर्दै आक्रोश व्यक्त गरेका हुन्।

आज सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै उनले चुनावमा हारेकाहरूलाई राष्ट्रियसभाको उम्मेदवार बनाउनुले यो व्यवस्थामाथि गम्भीर प्रहार भएको बताए।

राष्ट्रका लागि भन्दा पनि राजनीतिक पार्टीका लागि काम गर्ने मान्छेलाई राष्ट्रियसभामा छान्नु पनि यो राजनीतिक प्रणाली माथिको गम्भीर प्रहार भएकाले यसलाई रोक्नुपर्ने सभापति लामिछानेको भनाई थियो।

‘आज चुनाव हारेका मान्छेहरू राष्ट्रियसभामा ठाँटले यही कार्यकालको चुनाव हारेका मान्छेहरू उठिरहेका छन्। मैले उदाहरण दिएको यहाँहरूलाई। तपाईंहरूले मुटुमाथि ढुंगा राखेर पार्टीको निर्णय मान्नुपर्ने अवस्था आएको छ नि। त्यसैगरी तपाईँको मुटुमा अर्को ढुंगा बस्छ फेरि अर्को ढुंगा राखेर तपाईंहरू हाँस्नुपर्ने अवस्था आउँछ‚’ उनले पुराना दलका सांसदलाई लक्षित गर्दै उनले भने, ‘मलाई विश्वास छ– गोली थापेर ल्याएको व्यवस्थामाथि यत्रो आक्रमण भइरहँदा यहाँहरूले गर्ने प्रतिवाद खोइ त? त्यसकारण कानूनमा उस्तै परे संविधानमा व्यवस्था गरिनुपर्छ। मेरिट बेसमा मान्छे सेलेक्ट भयो भने उपस्थिति मात्रै होइन, एक दिन पनि रिक्त हुँदैन। यो विधि विश्वव्यापी मान्यता हो।’

सभापति लामिछानेले राष्ट्र र जनताका लागि आवश्यक मान्छे छान्ने काम मेरिट बेसको आधारमा चयन गर्ने मान्यता विश्वव्यापी रुपमा नै रहेको भन्दै सोही अनुसार अघि नबढे मुलुकको प्रणाली र व्यवस्थामाथि भइरहेको ‘हाइज्याक’ रोक्न नसकिने बताए।

पुष २४, २०८० मंगलबार १६:२३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।