८० हजार घुस लिएको अभियोगमा बुढानीलकण्ठ नगरपालिकाका सव-इन्जिनियरविरुद्ध मुद्दा दायर

८० हजार घुस लिएको अभियोगमा बुढानीलकण्ठ नगरपालिकाका सव-इन्जिनियरविरुद्ध मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८० हजार घुस लिएको अभियोगमा बुढानीलकण्ठ नगरपालिकाका सव-इन्जिनियरमाथि मुद्दा दायर गरेको छ।

करारमा कार्यरत सव-इन्जिनियर टीकाराज राईले मंसिर १८ गते घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग घुस/रिसवत लिएको पुष्टि भएपछि विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए।

सव-इन्जिनियर राई र ठेकेदार रामचन्द्र सुनुवारले आपसी मिलोमतो गरी निर्माण भएको घरको नक्सा संशोधन गरी घर निर्माण सम्पन्न प्रमाणपत्र उपलब्ध गराउने प्रयोजनार्थ सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस मागेको आयोगको अभियोगपत्रमा उल्लेख छ।

राईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो ८० हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत माग गरिएको छ।

साथै ठेकेदार रामचन्द्र सुनुवारले मुख्य कसुरदार टीकाराज राईले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (1) बमोजिमको कसुरको मतियार भई भ्रष्टाोचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुर गरेको पुष्टि भएको भन्दै आयोगले उनलाई पनि ८० हजार रुपैयाँ बिगो जरिवाना माग गरेको छ।

२४ पुस, २०८०, १४:२०:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।