चिकित्सक शाक्यविरुद्ध यौन दुर्व्यवहारको आरोपमा अदालतमा उजुरी दर्ता, भित्री वस्त्र तानेर गुप्ताङग हेरेको दाबी

चिकित्सक शाक्यविरुद्ध यौन दुर्व्यवहारको आरोपमा अदालतमा उजुरी दर्ता, भित्री वस्त्र तानेर गुप्ताङग हेरेको दाबी

काठमाडौँ : स्वास्थ्य परिक्षणकोक्रममा यौन दुर्व्यवहार गरेको भन्दै चिकित्सक जसवन शाक्यविरुद्ध अदालतमा उजुरी दर्ता भएको छ। ग्रान्डी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न जाँदा डा शाक्यले विना अनुमति संवेदनशील अङ्ग हेरेको भन्दै एक युवतीले काठमाडौँ जिल्ला अदालतमा उजुरी दर्ता गरेकी हुन्।

बालिगमाथि यौन दुर्व्यवहार भएको हकमा सिधै अदालतमा उजुरी दिनुपर्ने कानुनी प्रावधान छ। सोही प्रावधान अनुसार पीडितले काठमाडौँ जिल्ला अदालतमा उजुरी दर्ता गरेकी हुन्।

उजुरीमा असोज ३ गते परामर्श र स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पतालमा जानेक्रममा यौन दुर्व्यवहार गरेको उल्लेख छ। डायग्नोस्टिक कक्षमा महिलाको संवेदनशील अङ्ग सम्बन्धी परीक्षण गर्नुपर्ने भएकाले महिला नर्स वा अन्य सहायक कर्मचारी उपस्थित गराउन गरेको अनुरोध बेवास्ता गरेको उजुरी पत्रमा उल्लेख छ।

डा शाक्यको व्यवहार असहज लागेपछि उनलाई त्यसबारेमा जानकारी गराउँदा समेत वास्ता नगरी भित्री वस्त्र तानेर गुप्ताङग नियाली भद्दा र अश्लील टिप्पणी गरेको उजुरीमा उल्लेख छ। उजुरीमा गरिएको दाबी अदालतबाट पुष्टि भएमा शाक्यमाथि तीन वर्षसम्म कैद सजायको फैसला हुनसक्छ।

शाक्यको व्यवहारविरुद्ध पीडितले ग्रान्डी अस्पतालमा जानकारी गराएपछि अस्पतालले शाक्यलाई निकालिसकेको छ। शाक्यविरुद्ध नेपाल मेडिकल काउन्सिलमा समेत उजुरी परे पनि काउन्सिलले कुनै निर्णय गरेको छैन।

२० पुस, २०८०, १५:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।