बडीमालिका जाने क्रममा सतर्कता केन्द्रका लेखा अधिकृतको मृत्यु
बाजुरा : बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका दर्शनका लागि जाने क्रममा राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंमा कार्यरत एक लेखा अधिकृतको मृत्यु भएको छ।
मृत्यु हुनेमा भैरहवाका ५६ वर्षीय विश्वराज पन्थी रहेका छन्। उनी राष्ट्रिय सतर्कता केन्द्रमा लेखा अधिकृतका रूपमा कार्यरत थिए।
चार जनाको टोलीसहित बडीमालिका दर्शनका लागि हिँडेका पन्थी बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ८ स्थित खारेको जंगलमा पुग्दा एक्कासि बेहोस भएका थिए।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी नरेश बहादुर शाहीका अनुसार बेहोस भएका पन्थीलाई टोलीका अन्य सदस्यहरूले तत्काल उद्धार गरी जिल्ला अस्पताल मार्तडी पुर्याएका थिए। अस्पतालमा उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार पन्थीको शव हाल जिल्ला अस्पताल मार्तडीमा राखिएको छ। आफन्त पुगेपछि पोस्टमार्टम गरी शव जिम्मा लगाइने प्रहरी निरीक्षक शाहीले जानकारी दिए।
मृतक पन्थीसँगै अर्घाखाँची छत्रदेव गाउँपालिका-७ घर भई राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंमा कार्यरत लेखा समूह उप-सचिव ३४ वर्षीय शिवहरी न्यौपाने, शाखा अधिकृत वर्ष ३२ वर्षीय जीवन घिमिरे र लेखापाल वर्ष ३५ वर्षीय उमेश शर्मा बडीमालिका दर्शनको लागि गएका थिए।
जेठ ३, २०८३ आइतबार १०:३७:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।