विश्वविद्यालयको नेतृत्व चयनमा प्रधानमन्त्री प्रचण्डको मेरिटोक्रेसीको गफ, विश्वविद्यालयको पदाधिकारी नभएकाले आवेदन दिनै नपाउने सर्त

विश्वविद्यालयको नेतृत्व चयनमा प्रधानमन्त्री प्रचण्डको मेरिटोक्रेसीको गफ, विश्वविद्यालयको पदाधिकारी नभएकाले आवेदन दिनै नपाउने सर्त

काठमाडौँ : शैक्षिक संस्थाको क्षमता बढाउन देशभित्र या देश बाहिर जहाँ रहेका भए पनि सक्षम व्यक्ति नियुक्त गर्ने दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नै बोलीबाट पछि हटेका छन्।

पुस २ गते त्रिविको ४९ औँ दीक्षान्त समारोहमा बोल्दै उनले अब विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा नहुने र मेरिटका आधारमा उपकुलपति नियुक्त गरिने दाबी गरेका थिए।

'त्रिभुवन विश्वविद्यालयको भिसीको नियुक्ति मेरिटको आधारमा गरेर विद्यालयहरूमा हुने राजनीतिक नियुक्तिको अन्त्य गर्ने घोषणा गर्दछु,' उनले भनेका थिए'  यसका निम्ति देशभित्र र विश्वभर छरिएर रहेका विज्ञ नेपालीहरूलाई विशेष अपिल गर्दछु।'

पुस १० गते आफू तेस्रो पटक प्रधानमन्त्री बनेको एक वर्ष पुगेको दिन पुस १० गतेको देशवासीको नाममा गरिएको सम्बोधनमा पनि उनले खुला प्रतिस्पर्धा गराएर विश्वविद्यालयका पदाधिकारी नियुक्त गरिने बताए।

तर त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान गर्दा सर्तहरू जानेको भन्दा दलले छानेकोलाई सहज हुने गरी राखियो।  

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले शुक्रवार निकालेको १० दिने सूचनामा क्षमता भएका तर कहिल्यै विश्वविद्यालयको पदाधिकारी नभएकालाई प्रतिस्पर्धामै सहभागी हुन नसक्ने सर्त राखिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईको अध्यक्षतामा रहेको छनौट तथा सिफारिस समितिले बुँदा नम्बर (ङ) मा विश्वविद्यालयका पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिन समेत) ब्यहोरा खुलेको विवरण तथा प्रमाणित प्रतिलिपि पेस गर्नुपर्ने' सर्त राखेको छ।

यो सर्तले फ्रेस व्यक्ति उपकुलपतिको प्रतिस्पर्धामा आउने बाटो नै बन्द भएको छ। अन्य सर्तहरूमा प्राध्यापकको सुरुको नियुक्ति पत्रको प्रमाणित प्रतिलिपि, स्नातकोत्तर र विद्यावारिधि तहको शैक्षिक योग्यताको प्रमाणपत्रहरू माग गरेको छ।

सूचनामा आवेदकसँग बढीमा तीन हजारसम्म शब्दको चार वर्षीय कार्य योजना, सोचपत्र र व्यावसायिक कार्य योजना समेत मागिएको छ।

उपकुलपति प्राडा.धर्मकान्त बाँस्कोटाको चार वर्षे कार्यकाल सकिएपछि कात्तिक १६ गतेदेखि त्रिविमा उपकुलपति पद रिक्त छ। प्रधानमन्त्री प्रचण्डले शिक्षाध्यक्ष प्राडा.शिवलाल भुसाललाई उपकुलपतिको जिम्मेवारी दिएका थिए।

२० पुस, २०८०, १४:३८:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।