सलाहको दुई गोलमा न्यूक्यासलमाथि लिभरपुलको शानदार जित, शीर्ष स्थानमा कायमै*

सलाहको दुई गोलमा न्यूक्यासलमाथि लिभरपुलको शानदार जित, शीर्ष स्थानमा कायमै*

काठमाडौं : इंग्लिस प्रिमियर लिग ईपीएल फुटबलमा न्यूक्यासललाई ४-२ गोलले पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा कायमै रहेको छ।

गएराति भएको खेलमा सुरुवाती अग्रता बनाएको लिभरपुलले न्यूक्यासललाई खेलमा फर्कन दिएन। लिभरपुलका लागि मोहम्मद सलाहले दुई तथा कर्टिस जोन्स र कोडी गाक्पोले समान एक-एक गोल गरे। 

मोहम्मद सलाहले खेलको ४९औँ मिनेटमा गोल गरेर सुरुवाती अग्रता दिलाए। तर त्यो अग्रता पाँच मिनेट पनि टिक्न पाएन।

खेलको ५४औँ मिनेटमा न्यूक्यासलका अलेक्जेन्डर इशाकले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।

त्यसपछि लिभरपुलका लागि खेलको ७४औँ मिनेटमा कुर्टिस जोन्स र ७८औँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै खेललाई ३-१ को स्थितिमा लगे।

त्यसको तीन मिनेटपछि खेलको ८१औँ मिनेटमा न्यूक्यासलका स्भेन बाेटम्यानले एक गोल फर्काए।

३-२ को स्थितिमा पुगेको खेलको ८६औँ मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमार्फत थप एक गोल गर्दै जित सुनिश्चित गरे।

जितसँगै लिभरपुलको २० खेलमा ४५ अंक भएको छ। दोस्रो स्थानमा रहेको एस्टनभिल्लाको समान खेलमा ४२ अंक छ।

लिभरपुलसँग पराजित न्युक्यासलको २० खेलमा २९ अंकसहित नवौं स्थानमा छ।

*यसअघि हेडलाइनमा लिभरपुल हुनुपर्ने ठाउँमा भुलवस् आर्सनल भएकाले सच्याइएको छ।

१७ पुस, २०८०, ०८:४२:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।