गम्भीर विषयमा पनि प्रमाणबिनै बोल्छन् प्रधानमन्त्री प्रचण्ड

गम्भीर विषयमा पनि प्रमाणबिनै बोल्छन् प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ : पुस ३ मा संसद्को राज्यव्यवस्था समितिमा एनसेलको शेयर विक्री प्रकरणमा जवाफ दिन उपस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो छोरीहरूमाथि आक्रमण भएकोमा निकै भावुक देखिए।

प्रचण्ड प्रधानमन्त्री हुँदा होस् या नहुँदा होस् उनको परिवारका कुनै न कुनै सदस्य आर्थिक अपचलनमा जोडिई नै रहन्छन्। प्रकाश दाहाल जीवित रहेसम्म यस्ता प्रकरणमा उनको नाम अग्रपङ्क्तिमा आउँथ्यो। अहिले प्रचण्डको प्रमुख स्वकीय सचिव रहेकी उनको छोरी।

महत्त्वपूर्ण पदमा नियुक्ति हुने बेलामा होस् या कुनै गम्भीर आर्थिक अपचलन त्यसमा गंगाको नाम जोडिनै हालिन्छ। मध्यस्थकर्ताको रूपमा नाम आउँछ गंगाका श्रीमान् जीवन आचार्यको।

प्रधानमन्त्री प्रचण्ड गंगाको कार्यक्षमताबाट सन्तुष्ट नभएको उनी निकट स्रोतको दाबी छ। ढङ्ग नभएको भन्दै उनी परिवारका सदस्यबाहेककै अगाडि समेत गंगालाई हप्काउन पछि पर्दैनन्।

प्रचण्डले संसदीय समितिकै बैठकमा आफ्नो परिवारको सदस्य अनि गंगाबारे बोल्दै गंगाबारे भनेका थिए' मेरो परिवारमा अब तीन जना सदस्यमात्रै बाँकी छन्। एउटा छोरी रेणु दाहाल चितवन महानगरपालिकाको मेयर छिन्। अर्को छोरी मेरो सचिवालयमा काम गरिरहेको छ। त्यो बिचरा कस्तो छ, सबैलाई नै थाहा छ।'

उनले गंगालाई जोडेर कहिले उचाल्ने, कहिले पछार्ने गर्ने गरिएको भन्दै ' यो लोकतान्त्रिक व्यवस्थाविरुद्धको हमला हो' सम्म भन्न भ्याए।

उनले छोरीहरूको शङ्कास्पद व्यवहारमाथिको टिप्पणीलाई आफूमाथिको हमलाको रूपमा व्याख्या गरेका थिए। 'प्रचण्डलाई हमला गरेर नपछारेसम्म यो व्यवस्था उल्टिँदैन भनेर मेरो विरुद्ध लागिपरेका छन्' उनले सोही बैठकमा दाबी गरेका थिए।

यी सबैको पृष्ठभूमि गंगाको शङ्कास्पद गतिविधि अनि त्यसबारे हुने आलोचना नै थियो। गंगा अनि उनको श्रीमान्का गतिविधि शङ्कारहित छैन।

अशोक सिंहलाई प्रहरी महानिरीक्षक बनाउन भएका बैठकका शृङ्खला लगायतका गंगाको गतिविधि नै हुन् प्रश्न उठिरहने कारण। यसको पृष्ठभूमि प्रचण्ड आफैँले बनाइदिएका हुन् सचिवालयको जिम्मेवारी दिएर। तर उनी आफ्ना परिवारका सदस्यको गतिविधि नियन्त्रण गर्न चाहँदैनन् भन्ने उनले संसदीय समितिमा दिएकै अभिव्यक्तिले पुष्टि गर्छ।

अनि उनले आफ्नो परिवारका सदस्यहरूमाथि उठ्ने गरेका प्रश्नलाई विषयान्तर गराउन त्यसलाई व्यवस्थासँग लगेर जोडेर आफैँले भद्दा मजाक गरे।

त्यही क्रम उनले सोमबार पनि दोहोर्याए। उनले सोमबार एक कार्यक्रममा इपिएस फारमको भर्न नपाएको विरोधमा उत्रिएको समूह नियन्त्रण गर्न भएको सुरक्षा चुकमा दुई युवाको ज्यान गयो। यसमा मन्त्रीदेखि सुरक्षा सङ्गठनका सदस्यहरूसम्मको कमजोरी सार्वजनिक भइसकेका छन्।

घटनाक्रमले स्वदेशमा रोजगारी नपाएर विदेश जान खोज्दा फारम पनि भर्न नपाउँदाको आक्रोश पोखिदा मन्त्री र सुरक्षा निकायका सदस्यहरूले परिस्थिति प्रतिकुल बल प्रयोग गर्दा घटना भएको प्रधानमन्त्रीसहितका सरकारी अधिकारीहरूले नै सार्वजनिक गरेकै विषय हो।

राष्ट्रिय मेलमिलाप दिवसमा बोल्दै प्रधानमन्त्री प्रचण्ड।तर सोमबार उनले बालकुमारीको घटनालाई पनि लगेर उही व्यवस्था विरुद्धको षड्यन्त्रमा लगेर जोडे। उनी प्रधानमन्त्री पदमा छन्। राष्ट्रिय अनुसन्धान विभाग उनकै कार्यालयको प्रत्यक्ष मातहतमा छ। नेपाली सेना, सशस्त्र प्रहरी अनि नेपाल प्रहरीको गुप्तचरी संयन्त्र अन्तराष्ट्रिय स्तरका नहोलान् तर पत्रु नै भने छैनन्। 

यी संयन्त्रहरूबाट कुन घटना के कारण भएको हो भन्ने सूचना पाउन प्रधानमन्त्रीलाई गाह्रो छैन। पाइरहेका पनि हुन्छन्। तै पनि बालकुमारी जस्ता गम्भिर घटनालाई लगेर कताकता जोड्छन्। उनले सोमबार सोही घटनालाई व्यवस्थाविरुद्धको आक्रमणको रूपमा अपव्याख्या गर्दै ' बालकुमारी घटना लोकतन्त्र र गणतन्त्र विरुद्धको डिजाइन हुन सक्ने' दाबी गरे।

उनले सिधै ‘बालकुमारी घटनमा चिज देखिएकोजस्तो नभएर त्यसभित्र अर्कै केही छ' भन्ने दाबी गरे। प्रचण्डले गर्ने यस्ता दाबीमा प्रमाण भने खुलाउँदैनन्। केवल दाबी मात्र हुन्छ।

बालकुमारी घटना कसरी व्यवस्था विरुद्ध गएर जोडिन्छ त्यो खुलाएनन् मात्र हैन उनले आफूसँग प्रमाण नभएको नै स्विकारे।

उनले भने ‘मसँग कुनै प्रमाण त छैन तर कतै लोकतन्त्र र गणतन्त्र विरुद्धको डिजाइन त हैन भन्ने लागेको छ।’ यो कतै भन्ने शब्दले यो केवल उनको शङ्का मात्रै हो भन्ने देखाउँछ नै।

पछिल्लो समय सरकारमा रहेका वा नरहेका राज्यसत्तामा रहेका प्रधानमन्त्री, दलका नेता अनि मन्त्रीहरूप्रति आक्रोशित सङ्ख्या बढिरहेको छ। आक्रोशको अभिव्यक्ति हुने सामाजिक सञ्जालप्रति सरकारको अनुदार व्यवहार बढ्दो छ। त्यो आक्रोश कहिलेकाहीँ सडकमा समेत देखिन्छ।

अहिलेसम्म सार्वजनिक भएका तथ्य र घटनाक्रमले कोरियामा रोजगारीमा जान चाहेका बेरोजगार युवाहरूले फारम समेत भर्न नपाउँदा बढेको आक्रोशकाविचमा मन्त्री प्रकाश ज्वाला पुग्दा स्थिति भड्किएको देखिन्छ।

मन्त्रीमाथि नै हातपात समेत भएको भिडियो नै सार्वजनिक भएका छन्। विना सुरक्षा योजना आइपरेको घटना नियन्त्रणमा लिन सुरक्षाकर्मीले बल प्रयोग गर्दा दुई युवाको ज्यान गएको देखिन्छ।

युवामा किन आक्रोश बढ्दैछ भन्ने समस्याको पहिचान गरेर समाधानमार्फत घटना दोहोरिनबाट रोक्नतिर भन्दा सरकारको ध्यान कहिले छानबिन समिति गठन गर्ने त कहिले आयोग गठन गर्नेतिर केन्द्रित देखिन्छ।

अनि प्रधानमन्त्री पदमा रहेका प्रचण्ड प्रमाणै नभए पनि सहजै सार्वजनिक कार्यक्रममा भनिदिन्छन्- ‘यो व्यवस्था विरुद्धको षड्यन्त्र हो।’

षड्यन्त्र हो भने त्यो षड्यन्त्र गोली चलाउने प्रहरीले गरे कि मृतक युवाहरूले गरेका थिए या सामान्य सुरक्षा प्रोटोकल समेत नअपनाउने आफ्नै क्याबिनेटका मन्त्रीले ? त्यो बोल्दैनन् प्रचण्ड।

१६ पुस, २०८०, २२:२८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।