वार्षिक ६० लाख रूपैयाँ खर्च जोगिने भन्दै मन्त्रिपरिषदको बैठकमा खाजा कटौती गर्ने सरकारको निर्णय

वार्षिक ६० लाख रूपैयाँ खर्च जोगिने भन्दै मन्त्रिपरिषदको बैठकमा खाजा कटौती गर्ने सरकारको निर्णय
फाइल फोटो

काठमाडौं : पुस १० गतेबाट फरक ढंगबाट अघि बढ्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिबद्धता अनुरूप आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गर्ने निर्णय भएको छ।

प्रधानमन्त्री प्रचण्डले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स-साना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

राज्यका सम्पूर्ण संरचनामा सुधार गर्ने लक्ष्य लिएको सरकारले खाजा बापत प्रत्येक मन्त्रिपरिषद् बैठकमा करिब ६० हजार रूपैयाँ खर्च हुने गरेको भन्दै खाजा कटौती गरिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

वर्षमा एक सयभन्दा बढी मन्त्रिपरिषद् बैठक हुने गरेका छन्। मन्त्रिपरिषदमा हुने खाजा कटौती भएसँगै वार्षिक करिब रु ६० लाख जोगिएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

मन्त्रिपरिषद् बैठकमा सामान्य खाजा खुवाउन सुरू गरिएको छ। सरकारको कार्यशैली बदल्ने घोषणा गरेका प्रधानमन्त्री दाहाल सार्वजनिक विदाका दिन बाहेक दैनिक १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्ने गरेका छन्।

प्रधानमन्त्री सिंहदरबारबाट दैनिक विभिन्न मन्त्रालयका ‘ब्रिफिङ’ लिने, राष्ट्रिय गौरव लगायत आयोजनामा देखिएका समस्या समाधानका लागि पहल लिँदै आएका छन्।

विभिन्न अवसरमा प्रधानमन्त्री दाहालले शुभकामना सन्देशमा नेपाल संवत्को मिति उल्लेख गर्न थालिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

१६ पुस, २०८०, १२:३२:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।