गाजाका ७० प्रतिशत घर क्षतिग्रस्त, २८ अस्पताल ध्वस्त

गाजाका ७० प्रतिशत घर क्षतिग्रस्त, २८ अस्पताल ध्वस्त

एजेन्सी : इजरायलसँग चलिरहेको युद्धका कारण गाजा सहरका झण्डै आधा ठूला भवन र ७० प्रतिशत घरहरू क्षतिग्रस्त भएको टाइम्स अफ इजरायलले जनाएको छ।

वाल स्ट्रिटको रिपोर्टलाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले स्ट्रिपका स्याटेलाइट फोटोग्राफी र अन्य रिमोट सेन्सिङ विधिहरूको विश्लेषणका आधारमा ती तथ्य सार्वजनिक गरिएको जनाएको हो।

प्रतिवेदनमा उल्लेख गरिए अनुसार क्षतिग्रस्त भवनहरूमा कारखाना, प्रार्थना घरहरू, विद्यालयहरू, सपिङ मलहरू र होटलहरू लगायत समावेश छन्। इजरायलले भने थुप्रै विद्यालय, मस्जिद र अन्य भवनहरू सैन्य उद्देश्यका लागि र गाजा आतंककारी समूहहरूले प्रयोग गरिएपछि आक्रमण गरेको बताएको छ।

प्रतिवेदनले गाजाका ३६ वटा अस्पतालहरूमध्ये केवल आठ अस्पतालहरूले मात्र बिरामीहरूलाई सेवा दिन सक्ने अवस्थामा रहेको बताएको छ। बाँकी रहेका २८ वटा अस्पताल पूर्ण रूपमा ध्वस्त भएका छन् भने ८ वटामा पनि पानी, बिजुली र सञ्चार लगायतका आधारभूत पूर्वाधारहरू ध्वस्त भएको बताएको छ।

यसैबीच, इजरायली वायुसेना र नौसेनाले गाजा पट्टीमा थुप्रै आतंकवादी कक्षहरू र पूर्वाधारहरूमा आक्रमण गरेको इजरायली सेनालाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले उल्लेख गरेको छ।

गाजा सहरका सेनाले गत दिन विभिन्न ठाउँमा दर्जनौं आतंककारीहरूलाई मारेको बताइएको छ। सेनाले उत्तरी गाजाको बेट लाहियामा हमासले प्रयोग गर्ने दुईवटा भवनहरू पनि ध्वस्त पारेर बम, बन्दुक र सञ्चार उपकरणहरू सहित ठूलो मात्रामा सैन्य उपकरणहरू जफत गरेको बताएको छ।

यस् क्षेत्रमा पछिल्लो समय सैन्य हमला तीव्र हुँदा त्यसबाट ठूलो जनधनको क्षति भइरहेको बेला टाइम्स अफ इजरायलले चिकित्सक र प्यालेस्टिनी पत्रकारहरूलाई उद्धृत गर्दै मध्य गाजामा रहेको नुसेरात शिविरमा हवाई हमला भएको बताएको छ ।

१५ पुस, २०८०, ११:५३:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।