रवि लामिछानेको नामै लिएर शंकर पोखरेलको झटारो- ‘कठै!’

रवि लामिछानेको नामै लिएर शंकर पोखरेलको झटारो- ‘कठै!’

काठमाडौं : एमाले महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नामै लिएर कटाक्ष गरेका छन्।

शुक्रबार साँझ सामाजिक सञ्जाल एक्स (पुरानो ट्वीटर)मा महासचिव पोखरेलले ग्यालेक्सी टिभीमा लगानी गर्ने सहकारी संकटमा पर्दा आफ्नो भूमिका छैन भनेको आश्चर्य व्यक्त गरेका छन्।

लामिछानेले मिडिया व्यक्तित्वको प्रयोग गरेर सहकारीको रकमलाई माध्यम बनाएर ग्यालेक्सी टिभीको लागि लगानी जुटाएको भन्दै पोखरेलले ग्यालेक्सी नै प्रयोग गरेर राजनीतिमा प्रवेश गरेको टिप्पणी गरे।

अहिले ग्यालेक्सी टिभीमा लगानी गर्ने सहकारी नै संकटमा पर्दा त्यसमा आफ्नो भूमिका नभएको भनेकोमा पोखरेलले उनलाई ‘कठै!’ व्यङ्ग्यात्मक रूपमा दयाभाव प्रकट गरेका छन्।

उनले लेखेका छन्, ‘रवी लामिछानेले मिडिया व्यक्तित्वको प्रयोगगरी सहकारीको रकमलाई माध्यम बनाएर ग्यालेक्सी टिभिका लागि लगानी जुटाए। सोही टिभिलाई प्रयोगगरी वैकल्पिक शक्तिका नाममा रास्वपाको स्थापना गरे। तर आज ग्यालेक्सीमा लगानीगर्ने सहकारी संकटमा पर्दा उनी त्यसमा आफ्नो कुनै भूमिका छैन भन्दैछन्। कठै!’

राष्ट्रिय स्वतन्त्र पार्टी खोलेर लामिछाने राजनीतिमा प्रवेश गरेदेखि निरन्तर विवादमा आइ नै रहेका छन् नै कानुनी रूपमा समेत उनी चुक्दै आएका छन्। त्यसको मूल्य राष्ट्रिय स्वतन्त्र पार्टीले बेहोर्ने नै भयो।

उनी प्रारम्भमै दोहोरो नागरिकताको विवादमा परे। अमेरिकी नागरिकको कानुनी हक त्यागे पनि अमेरिकी नागरिक बन्दा निष्क्रिय बनेको नेपाली नागरिकता सक्रिय नगराइ कानुनसँगै राजनीतिक गतिविधिमा लागेका उनले निरन्तर आफूले नेपाली नागरिकता नत्यागेकाले सक्रिय नै रहेको ढिपी गरिरहे।

अन्ततः सर्वोच्च अदालतको संवैधानिक इजलासले नै उनको प्रयोग गरिरहेको नागरिकता निष्क्रिय रहेकाले त्यसको प्रयोग गरेर उपभोग गरिएका सबै कानुनी हक निष्क्रिय गराउँदा चितवन-२ बाट निर्वाचित भएको परिणाम अनि गृहमन्त्रीदेखि पार्टी सभापति पद समेत अवैध भएको थियो।

कानुनी प्रक्रिया पुर्याएर नागरिकता लिएसँगै पार्टी सभापतिमा फर्किएका उनी उप निर्वाचनबाट संसद् पनि बने तर गृहमन्त्री बन्न सकेका छैनन्। पार्टीले पाएको सांसदहरूको राजनीतिक प्रभाव प्रयोग गरेर दोहोरो राहदानीको मुद्दा नचल्ने महान्यायाधिवक्ता कार्यालयबाट निर्णय गराए। त्यस विरुद्धको रिट सर्वोच्चमा जारी छ।

अहिले उनी ग्यालेक्सी टेलिभिजनमा रहँदा त्यसको माउ संस्था गोर्खा मिडियाले विभिन्न सहकारीबाट अवैध रूपमा लिएको ऋणको विवादमा फसेका छन्।

रवि ग्यालेक्सीको कामदार मात्रै नभई माउ संस्थाको सञ्चालक समेत भएको उनले नै स्वीकार गरिसकेका थिए। अध्यक्षमा जीवी राई थिए भने नेतृत्वको दोस्रो तहमा रवि।

जीवी अवैध नेटवर्किङ व्यवसाय हुँदै सहकारीको सञ्जाल बनाएर बचतकर्ताहरूको रकम दुरुपयोग गर्दा अहिले सातभन्दा बढी सहकारीमा रहेको बचतकर्ताहरूको १६ अर्ब बढी रकम जोखिममा छ। दुई सहकारीको मुद्दा अदालत पुगिसकेको छ।

पोखराको सुर्यदर्शन सहकारीबाट ग्यालेक्सीको माउ संस्था गोर्खा मिडियासँगै रविको नाममा समेत ऋण प्रवाह भएको सार्वजनिक भइसकेको छ। उता चितवनको सहारा सहकारीबाट ग्यालेक्सीको माउ संस्थाको नाममा १० करोड बढी ऋण प्रवाह भएको छ।

काठमाडौँमा रहेको स्वर्णलक्ष्मी सहकारी, वीरगन्जको सानोपाइला, बुटवलमा रहेको सुप्रिम सहकारी लगायतकाहरुको बचत कति गोर्खा मिडियामा गयो खुलेको छैन।

नेपालको विद्यमान कानुन अनुसारै कुनै संस्थाले कुनै गैर कानुनी गतिविधि गरेको अवस्थामा त्यसको सञ्चालक समितिमा रहेका सबै अनुसन्धानको दायरामा तानिने प्रावधान छ। सुर्यदर्शन सहकारीको बचत अपचलनमा जीवी प्रतिवादी बनिसकेका छन्। तर रवि जोगिएका छन्।

उनले छाडिसकेको संस्थाले गरेको गतिविधिसँगै आफू कर्मचारी मात्र भएकाले गोर्खा मिडियाले गरेको कामको दायित्व नहुने दाबी गर्दै ट्विट गरिरहेका छन्। तर उनले नै सार्वजनिक गरेका प्रमाणहरूका आधारमा उनी कर्मचारी मात्र नभई ग्यालेक्सीको व्यवस्थापकीय जिम्मेवारीमा समेत रहेकाले भोलिका दिनमा गोर्खा मिडिया अनुसन्धानको दायरामा तानिँदा रवि तानिने पक्का छ। अनुसन्धानको दायरा हुँदै रवि पक्राउ परेको अवस्थामा त्यसको क्षति पार्टीलाई पुग्ने पक्का छ।

पुष १३, २०८० शुक्रबार २०:३४:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।