बालकुमारीमा अस्ताएका दुई युवाको हत्या राज्यले गरेको हो : रवि लामिछाने

बालकुमारीमा अस्ताएका दुई युवाको हत्या राज्यले गरेको हो : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारीमा भएको घटनामा ज्यान गुमाएका दुई युवाको हत्यारा राज्य भएको बताएका छन्।

आज सामाजिक सञ्जालमार्फत उनले बालकुमारीमा भएको घटनाले गृह मन्त्रालयको अक्षमता उदांगिएको बताएका हुन्।

‘दुई होनहार युवा देश छाड्न खोज्दै थिए, संसार छाड्नुपर्ने बनाइदिए। यो राज्यले गरेको हत्या हो, जुन राज्यका गृहमन्त्री सर्वहारा वर्गको नारा लगाउँदै त्यो पदमा पुगेका हुन्,’ उनले भनेका छन्, ‘आज भएको घटनाको दोष अहिलेका सत्तामा भएका सबैले लिनुपर्छ। घटना पश्चात् सामाजिक सञ्जालमा समवेदना लेख्न होडबाजी गर्ने सत्तामा भएका दलका नेताले समस्या समाधान गर्ने तर्फ पनि उत्तिकै हतार गरेको भए सायद आज यो घटना हुने थिएन होला।’

उनले रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिन पाउने कि नपाउने भन्ने विवादमा दुई जना नेपालीले ज्यान गुमाउनुपर्ने स्थितिबाट आफू मर्माहित भएको पनि बताए।

ग्वार्को-बालकुमारीमा इपिएस परीक्षाका लागि आवेदन दिन कार्यालयमा पुगेका र प्रहरीबीच झडप भएको थियो। प्रहरीले बल प्रयोग गर्दा दुई जनाको मृत्यु समेत भएको छ।

झडपअघि भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी समेत भएको थियो। उक्त घटनामा दैलेखका सुजन रावत र वीरेन्द्र साहको मृत्यु भएको हो। सुजनको छातीमा डाम र वीरेन्द्रको तिघ्रामा गोली लागेको थियो।

पुष १३, २०८० शुक्रबार १८:४६:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।