बिहेको आश्वासन दिएर पटक-पटक करणी, दिएको प्रमाण सरकारी वकिलले अदालतमा पेश नगरेपछि इजलासमै विष सेवन

बिहेको आश्वासन दिएर पटक-पटक करणी, दिएको प्रमाण सरकारी वकिलले अदालतमा पेश नगरेपछि इजलासमै विष सेवन

सुर्खेत : जारकोटकी २६ वर्षीया ‘वीरेन्द्रनगर ३२ क’ (अदालतले परिवर्तन गरेको नाम)को डेढवर्ष अघि टिकटकमा नेपाल प्रहरीका जवान बैतडीका २४ वर्षीय भूपेन्द्र ठगुन्नासँग चिनजान भयो।

चिनजान भएपछि कुराकानी हुन थाल्यो। टिकटकबाट चिनजान भएपनि पछि उनीहरूबीच फेसबुक, ह्वाट्सएप र फोन नम्बरमा समेत नियमित कुराकानी हुन थाल्यो।

कुराकानी बढ्दै जाँदा सम्बन्ध मित्रताबाट प्रेममा बदलियो। दुवैले सँगै जीन्दगी बिताउने योजना समेत बनाए, त्यो पनि सामाजिक सञ्जालबाटै। भूपेन्द्रको दरबन्दी काठमाडौंको सर्वोच्च अदालतमा थियो।

एकदिन भूपेन्द्रले उनलाई काठमाडौं भेट्न बोलाए। सोही अनुसार ‘वीरेन्द्रनगर ३२ क’ भूपेन्द्रलाई भेट्न मंसिर १५ गते सुर्खेतबाट काठमाडौं गइन्। काठमाडौं पुगेपछि केही दिन उनी गाउँकै साथीको कोठामा बसिन्।

त्यसपछि भूपेन्द्रले बिहे गर्ने आश्वासन देखाएर आफ्नो बागबजारमा रहेको कोठामा ‘वीरेन्द्रनगर ३२ क’लाई बोलाए। मायामा परेकी उनले पनि सहजै स्वीकारिन् र दुवै जना सँगै बस्न थाले।

‘विवाहको आश्वासन देखाएर मलाई भूपेन्द्रले तीन महिनासम्म शारीरिक सम्बन्ध राख्यो,’ उनले भनिन्, ‘पछि गर्भ बस्यो। उसले मलाई दबाव दिएर गाउँ पठायो। गाउँ आएपछि बच्चा खेर गयो। उसले बिहेपछि बच्चा जन्माउँला भन्दै फकायो।’

उनीहरूको बेलाबखत कुरा भइरहन्थ्यो। भूपेन्द्रले ‘वीरेन्द्रनगर ३२ क’ लाई सान्त्वना दिइरहन्थे। ०८० वैशाख १ गते भूपेन्द्र १५ दिनको बिदा लिएर नयाँ वर्ष मनाउन सुर्खेत आए।

‘वीरेन्द्रनगर ३२ क’ सुर्खेतमा कोठा भाडामा बसेर लोक सेवाको तयारी गरिरहेकी थिइन्। नयाँ वर्षमा सुर्खेत आएका भूपेन्द्र दुई दिनसम्म उनकै कोठामा बसे।

दुई दिन बसेर भूपेन्द्र सुदूरपश्चिम गए। फेरि ‘वीरेन्द्रनगर ३२ क’ को गर्भमा बच्चा बस्यो। भूपेन्द्र अझ टाढिँदै गए। भूपेन्द्रलाई सम्पर्कमा ल्याउन उनले भूपेन्द्रको परिवार र आफन्तसँग कुरा गरिन्। उनका आफन्तहरूले समेत उल्टै धम्की दिन थाले।

त्यसपछि पीडित ‘वीरेन्द्रनगर ३२ क’ ले मंसिर ४ गते भूपेन्द्रविरुद्ध वैवाहिक आश्वासनमा जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिइन्।

केही दिनसम्म प्रहरीले जाहेरी लिन नमाने पनि मानव अधिकार आयोगको कार्यालयले जाहेरी दर्ता गरी आवश्यक अनुसन्धान गर्न निर्देशन दिएपछि जाहेरी दर्ता भयो। त्यसपछि प्रहरीले मुद्दा दर्ता गरेर भूपेन्द्रलाई पक्राउ गर्यो।

‘भूपेन्द्र प्रहरी कर्मचारी भएकाले होला मलाई मुद्दा फाँटका प्रहरीले केही रकम लिएर मिल्न निकै दबाब दिए,’ पीडित महिलाले उकेरासँग भनिन्, ‘मलाई प्रहरीले दिनदिनै कार्यालयमा बोलाएर मिल्न दबाब दियो। म मिलिनँ।’

उनले आफूसँग भएका प्रमाणहरू (म्यासेज, अडियो रेकर्ड, फोटोहरू) सरकारी वकिललाई दिइन्। मंसिर २५ गते जिल्ला अदालत सुर्खेतमा थुनछेक बहस भयो। इजलासमा जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुखले नै बहस गरिरहेका थिए।

बहसमा उनले आफूले दिएका प्रमाणहरू अदालतमा प्रस्तुत गरेको देखिनन्। सरकारी वकिलले पनि पीडक छुट्न सहज हुनेगरी बहस गरे। भूपेन्द्रले न्यायाधीशकै अगाडि गाली तथा बेइज्जती गरे। उनका वकिलले पनि चरित्रहीन भन्दै विभिन्न आरोप लगाएपछि ‘वीरेन्द्रनगर ३२ क’ले इजलासमै विष पिइन्।

अदालतले प्रमाण नपुग्ने भन्दै भूपेन्द्रलाई दुई लाख ५० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दियो। आफूले दिएको प्रमाण अदालतमा पेश भएको भए भूपेन्द्र अहिले थुनामा हुने उनी बताउँछिन्।

‘मेरो पक्षमा बोली दिने कोही मान्छे भएन, प्रहरीले जाहेरी लिनै समय लगायो,’ उनले भनिन्, ‘न्यायाधीशकै अगाडि चरित्रहीनको आरोप लाग्यो। सरकारी वकिलले पनि भनेजस्तो बहस गरेनन्। त्यो सहन नसकेर तरकारीमा प्रयोग गर्ने विष सेवन खाएकी हुँ ।’

उनलाई प्रहरीले तत्कालै कर्णाली प्रदेश अस्पतालमा भर्ना गर्यो। डिस्चार्ज भएर उनी अहिले न्यायको लागि हारगुहार गरिरहेकी छन्।

१३ पुस, २०८०, १२:३८:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।