इजाजतपत्र नवीकरण गर्न विकास बोर्डको आग्रह, नगरे खारेज गर्ने चेतावनी

इजाजतपत्र नवीकरण गर्न विकास बोर्डको आग्रह, नगरे खारेज गर्ने चेतावनी

काठमाडौं : चलचित्र विकास बोर्डले चलचित्रघरहरूको इजाजतपत्र नवीकरण तथा अद्यावधिक गर्न निर्देशन दिएको छ।

बिहीबार सार्वजनिक सूचना निकालेर बोर्डले, बोर्डबाट लिनुपर्ने इजाजतपत्र लिई तथा तोकिएको समयभित्र गर्नुपर्ने नवीकरण गरी अद्यावधिक रहेर मात्र चलचित्रघर सञ्चालन गर्न आग्रह गरेको हो।

बोर्डले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अर्थात् माघ १७ गतेसम्म चलचित्रघर र चलचित्र प्रदर्शन इजाजतपत्र अद्यावधिक रहेको कागजात बोर्डमा पेश गर्नसमेत भनेको छ।

त्यस अवधिमा कागज प्रमाण पेश नगर्ने चलचित्रघरहरूलाई कानूनबमोजिम कारबाही गरिने बोर्डको सूचनामा उल्लेख छ।

चलचित्र नियमावली २०५९ अनुसार चलचित्र प्रदर्शनका लागि बोर्डले पाँच वर्षको इजाजतपत्र दिने गर्दछ। त्यस्तो इजाजत पत्रको म्याद सकिएको ३५ दिनभित्र तोकिएको दस्तुर नवीकरण गर्नुपर्ने प्रावधान छ।

यस्तो दस्तुर चलचित्रघरको श्रेणी तथा महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा फरक–फरक निर्धारण गरिएको छ।

यसरी ३५ दिनभित्र इजाजतपत्र नवीकरण नगरेमा जरिवानासहित नवीकरण गर्नुपर्ने हुन्छ। यदि त्यसरी पनि नगरेको खण्डमा इजाजत पत्र नै स्वतः खारेज हुने नियमावलीमा उल्लेख छ।

१२ पुस, २०८०, ०८:०२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।