गाउँमा सबै पूर्वाधार पुगे तर उपभोग गर्ने मानिस अभाव भइसक्यो : राष्ट्रपति

गाउँमा सबै पूर्वाधार पुगे तर उपभोग गर्ने मानिस अभाव भइसक्यो : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र रोजगारीका लागि दैनिक हजारौं नेपाली विदेशिएकोप्रति चिन्ता व्यक्त गरेका छन्।

मंगलबार सरस्वती बहुमुखी क्याम्पसको ६५ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले विदेशिने युवाहरूलाई स्वदेशमै रोक्न रोजगारी र सिपमूलक शिक्षा दिनुपर्ने बताए।

उनले कुनै पनि देशको शिक्षा त्यस देशको सामाजिक, आर्थिक अवस्था र देशको आवश्यकता अनुरुप निर्धारण हुनुपर्नेमा जोड दिए।

बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पुर्याउने र विश्व बजारमा प्रतिस्पर्धी हुनसक्ने शिक्षा नीति र कार्यक्रम आजको आवश्यकता भएको उनको भनाइ छ। राष्ट्रपति पौडेलले लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बाबजुद यसको उपभोग गर्ने मानिसको अभाव हुनेगरी गाउँ रित्तो भएको बताए।

‘गाउँमा मोटर पुग्यो। बिजुली बल्यो, सञ्चार, स्वास्थ्य सुविधा, स्वास्थ्य चौकी, कलेजहरू गाउँमा पुगे। तर गाउँ रित्तो भइसक्यो,’ उनले भने, ‘त्यसलाई उपभोग गर्ने मानिसको अभाव भइसक्यो। आज गाउँ किन रित्तिँदै छ, नीति निर्माण र शासनसत्तामा बस्ने सबैको चिन्ता यसैमा केन्द्रित हुन जरुरी छ। शिक्षा र रोजगारीका लागि दैनिक हजारौं नेपाली युवा ताँती लागेर विदेशिने क्रम रोक्ने गरी रोजगारी र सिपमूलक शिक्षा दिन जरुरी छ।’

१० पुस, २०८०, १२:२६:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।