शुर्यदर्शन सहकारीबाट ऋण लिनेको सूचिबारे रविको दाबी'ठगेको छैन, पीडित देखिन्छु'

शुर्यदर्शन सहकारीबाट ऋण लिनेको सूचिबारे रविको दाबी'ठगेको छैन, पीडित देखिन्छु'

काठमाडौँ : बचतकर्ताको एक अर्ब बढी बचत ठगी गरेको शुर्यदर्शन सहकारीको छानबिन प्रतिवेदनमा ऋणीको रूपमा आफ्नो नाम भएकोबारे रवि लामिछानेले किर्ते गरिएको दाबी गरेका छन्। शुर्यदर्शन सहकारी उनले व्यवस्थापकीय नेतृत्वसहित काम गरेको ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जीवी राई, कुमार रम्तेल संलग्न सहकारी हो।

जीवी राई पीडित चितवन, पोखराका सहकारी बचतकर्ताहरू निरन्तर आन्दोलनमा रहे पनि रवि मौन बस्दै आएका थिए।

शनिवार पोखरामा भएको सभामा खोया प्रहार भएसँगै शुर्यदर्शन सहकारी जोडिएर समाचार आएपछि बल्ल उनले आफैँ पो पीडित भएँ कि भन्दै ट्विट गरेका हुन्।
शुर्यदर्शन सहकारीबाट आफूले एक करोड लिएको फर्जी कागज तयार गरेर बदनाम गर्ने महिनौँको प्रयास आफूले बुझेको उनले दाबी गरेका छन्।

आफूलाई खोया हान्ने व्यक्ति र आफ्नो शुर्यदर्शन सहकारीमा संलग्नताबारे आएको समाचारबारे उग्र भाषामा गरिएको ट्विटमा फर्जी कागज सायद सहकारीले गरेको उल्लेख गरेका छन्।

सो सहकारीबारे अध्ययन गरेर तयार पारेको प्रतिवेदनमा जिवीसहितले बिना धितो आफू निकट व्यक्ति र संस्थाहरूलाई ऋण प्रवाह गरेको उल्लेख छ।

रविले ट्विटमा लेखेका छन्' मैले करोड ऋण लिएको भए सम्झौताको कागज होला, धितो होला, दायाँ बायाँ ल्याप्चे होला। साक्षी जमानी होलान् । तैपनि  ऋणी भएकै भए तिर् भन्ने पत्र आउला, ताकेता गर्लान्। लिएकै प्रमाणित भए तिरौला पनि।'

शुक्रवार सो सहकारी पीडितहरूले रास्वपालाई तेस्रो पटक ज्ञापन पत्र बुझाएको थियो। शुक्रवार बुझाएको ज्ञापन पत्रमा रविको नामसमेत ऋणीमा रहेको उल्लेख छ।

उनले ट्विटमा त्यसको सङ्केत गर्दै लेखे' हिजो भर्खरै सहकारी पीडितहरूसँग कुरा गरेर आफ्नो कुरा स्पष्ट पारेर, उहाँहरूबाट ज्ञापन पत्र बुझेर म पनि पीडित पो भएछु भन्ने कुरा जानकारी लिएर दिएर उहाँहरूलाई न्याय दिलाउने वचन बद्धता दिएर छुटिएको हुँ।'

उनले सहकारीबाट आफै पीडित भएको देखिएको दाबी समेत गरेका छन्। उनले लेखेका छन्' मैले कसैलाई ठगेको छैन, बरु किर्तेको सिकार भएको जस्तो देखिन्छ, पीडित देखिन्छु।'

पुष ८, २०८० आइतबार ००:१०:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।