चलचित्र विकास बोर्डलाई ८ फिल्म संस्थाले दिए स्वायत्तताको सुझाव

चलचित्र विकास बोर्डलाई ८ फिल्म संस्थाले दिए स्वायत्तताको सुझाव

काठमाडौं : चलचित्र क्षेत्रसँग आबद्ध ८ संस्थाले प्रस्तावित चलचित्र विधेयकमा विकास बोर्ड स्वायत्तताको प्रावधान राख्नुपर्ने सुझाव पेस गरेका छन्।

शुक्रबार सुझाव बुझाउनका लागि चलचित्र संघ, निर्माता संघ, निर्देशक समाज, कलाकार संघ, आदिवासी जनजाति चलचित्रकर्मी महासंघ, प्राविधिक संघ, द्धन्द्ध कलाकार संघ र नृत्य संघका अध्यक्ष सहितको टिम बोर्ड पुगेका थिए।

उनीहरूले बोर्ड अध्यक्ष भुवन केसीलाई भेटेर बोर्डलाई स्वायत्तता दिनुपर्ने, बोर्डमा राजनीतिक हस्तक्षेप रोक्नुपर्ने, चलचित्र सम्बद्ध संस्थाको सिफारिसमा पदाधिकारी नियुक्ति गर्नुपर्ने र संस्थागत निर्णयलाई स्वीकार्नुपर्ने उल्लेख गरेका छन्।

चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले उकेरासँगको कुराकानीमा अन्य थुप्रै सुझावसहित बोर्ड स्वायत्ततालाई मुख्य प्राथमिकता राख्न सुझाव दिएको बताए। ‘हामी अहिले २०२६ सालको ऐन अन्तर्गत चलिरहेका छौँ। यसमा चाहिँ विकास बोर्डले आफ्नो एउटा ड्राफ्ट तयार पारेर हाम्रो संघसंस्थामा पठाएको थियो,’ उनले भने, ‘त्यसमा हामीले विशेषगरी बोर्ड स्वायत्त चाहिन्छ भनेरे सुझाव दिएका छौं।’

अध्यक्ष निरौलाका अनुसार आफ्नो सुझावलाई ग्रहण गर्दै बोर्ड अध्यक्ष केसीले चलचित्र क्षेत्रका विज्ञ र विशिष्ट व्यक्तिको सुझावलाई मन्त्रालयमा पेस गर्ने आश्वासन दिए।

चलचित्र विकास बोर्डले तीन महिना अघि आफ्नो मस्यौदामा बोर्डको स्वायत्तताको कुरा उल्लेख नगरेको र मन्त्रालयको अधिकारमा थप वृद्धि गरिएको भन्दै चलचित्रकर्मीले बोर्डको विरोध गरेका थिए। चलचित्र सम्बन्धी संस्थाहरूले विज्ञप्ति निकालेर नै असन्तुष्ट व्यक्त गरेका थिए।

पछि रायसुझाव मागेपछि चलचित्रसँग आबद्ध ८ संस्थाले सल्लाह सुझाव सहित बोर्ड पुगेका हुन्। आफ्नो राय सुझावलाई बोर्ड र मन्त्रालयले स्वीकार्नेमा कलाकार संघका अध्यक्ष निरौला विश्वस्त देखिएका छन्।

६ पुस, २०८०, १७:०६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।