विद्यालयलाई काठमाडौं महानगरको निर्देशन- चाडपर्वका नाममा नियमित बाहेकका पोशाक किन्न बाध्य नपार्नू

विद्यालयलाई काठमाडौं महानगरको निर्देशन- चाडपर्वका नाममा नियमित बाहेकका पोशाक किन्न बाध्य नपार्नू

काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित विद्यालयलाई नियमित बाहेकका पोशाक किन्न बाध्य नपार्न निर्देशन दिएको छ।

इसाइका धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’ नजिकिँदै गर्दा महानगरका शिक्षा अधिकारी सीताराम अधिकारीले यस्तो परिपत्र जारी गरेका हुन्।

परिपत्रमा भनिएको छ, ‘काठमाडौं महानगरपालिकाभित्र संचालित केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोशाकभन्दा फरक पोशाक किन्न बाध्य पारेको भन्ने गुनासो प्राप्त भएकाले तोकिएको विद्यालय पोशाकबाहेक अन्य पोशाक किन्न विद्यार्थीलाई बाध्य नगर्न सबै विद्यालयलाई अनुरोध गरिन्छ।’

महानगरको निर्देशनविपरीत विद्यार्थीलाई नियमित विद्यालय पोशाकभन्दा फरक पोशाक किन्न बाध्य पार्नेलाई कारबाही गर्ने चेतावनी समेत महानगरले दिएको छ।

‘कोही कसैले यस परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्ड सजाय हुने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ।’

महानगरभित्र रहेका विद्यालयले ‘क्रिसमस डे’मा आफ्ना विद्यार्थीका लागि सेन्टा क्लसले लगाउने रातो र सेतो रङको कपडा किन्न बाध्य पार्ने गरेका थिए। त्यसलाई रोक्न अहिले महानगरले यस्तो परिपत्र जारी गरेको हो।

६ पुस, २०८०, १२:०२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।